शिवशङ्कर मिश्र
बारा, असोज ११ गते । विसं २०७७ कात्तिक ३ गते पर्साको वीरगन्ज–५, रेसमकोठीस्थित गणेश अपार्टमेन्टको कोठा नम्बर ३०३ बाट प्रहरीले बरामद गरेको २५ किलो ३८३ ग्राम सुनको मुद्दा पुनः चर्चामा आएको छ । बरामद सुन तथा गरगहनाको तत्कालीन बजार मूल्य १८ करोड ६३ लाख ८७ हजार रुपियाँ रहेको थियो ।
यस काण्डमा संलग्न ठहर गर्दै राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले भारतीय नागरिक अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध उच्च अदालत जनकपुर, अस्थायी इजलास बबरगन्जमा २०७८ जेठ १३ गते मुद्दा दायर गरेको थियो । बाबुछोरीविरुद्ध राजस्व चुहावट ऐन २०५२ बमोजिम बिगो बराबरको जरिबाना र कैद सजायको मागसहित अभियोग दर्ता गरिएको हो ।
बरामद सुनसम्बन्धी कार्य राजस्व चुहावट ऐनको दफा ३ अन्तर्गत निषेध गरिएको भएकाले, प्रतिवादीमाथि १८ करोड ६५ लाख दुई हजार ७०६ रुपियाँ बराबरको बिगो कायम गरी ऐनको दफा २३ (१) अनुसार जरिबाना तथा दफा २३ (१) (घ) अनुसार कैदको माग गरिएको छ । साथै ऐनको हालै संशोधित रूप अनुसार २०८२ साल भदौ ११ गते यो मुद्दा अदालती प्रव्रिmयामा प्रवेश गरेको हो ।
कसुरको मितिदेखि फरार रहेका बाबुछोरी प्रतिवादी अन्ततः २०८२ भदौ ५ गते बारा जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।त्यसपछि जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले राजश्व चुहावट मुद्दामा अशोककुमारलाई १५ लाख रुपियाँ र छोरी निवेदिकालाई १० लाख रुपियाँ र उनीहरु माथि नै अर्को मुद्दा, सम्पत्ति शुद्धिकरणमा अशोककुमारलाई १५ लाख रुपियाँ र छोरी निवेदिकालाई १५ लाख रुपियाँ गरि (जम्मा रु.५५ लाख रुपियाँ धरौटी राखी) साधारण तारिखमा रिहा गर्ने आदेश दियो । यस निर्णयले अहिले बारा जिल्ला अदालतमा बहसको वातावरण सिर्जना गरेको छ ।
निवेदिका सिन्हाले २०६३ साल चैत १५ गते पर्सा जिल्ला, वीरगन्ज–२ बाट नेपाली नागरिकतासमेत लिएकी थिइन् ।
यसैबिच राजस्व अनुसन्धान विभाग ललितपुरले २०८१ माघ १२ गते बारा जिल्ला अदालतमा दायर गरेको अर्को अभियोगपत्रमा अशोककुमार सिन्हासँग दोब्बर जरिबाना र कैदसहित कुल ३४ करोड २४ लाख ३१ हजार ४८० रुपियाँ असुलउपर गर्नुपर्ने माग गरेको छ ।
हालसम्म बाबुछोरीविरुद्ध सम्पत्ति शुद्धीकरण, राजस्व चुहावटसहित तीन वटा छुट्टाछुट्टै अभियोगपत्र बारा जिल्ला अदालतमा दर्ता भइसकेको तथा अशोककुमार सिन्हा ६५ वर्षभन्दा बढी उमेरका बिरामी र ज्येष्ठ नागरिक भएकाको कारण उहाँलाई नियमित उपचारमा रहनुपर्ने भएकाले धरौटीमा छोडिएको स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिनुभएको छ ।
यस प्रकरणको अगाडि हुने अदालती प्रक्रिया र निर्णयलाई लिएर सर्वसाधारण र कानुनी क्षेत्रको चासो बढेको छ । अदालतले २५ किलो सुन कारोबारी विदेशी नागरिकलाई हाजिर भएकै दिन धरौटीमा छाडेपछि बारामा अहिले व्यापक चर्चाको विषय बनेको कानुन व्यवसायी बताउँछन् ।