• ११ असोज २०८२, शनिबार

क्षतिग्रस्त कार्यालय पुनर्निर्माण

blog

क्षतिग्रस्त भवन अनुगमन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्यलगायत ।

घोराही समाचारदाता 

घोराही, असोज ११ गते  । जेनजी आन्दोलनपछि क्षतिग्रस्त कार्यालयको पुनर्निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले अभियान थालेको छ । आन्दोलनका क्रममा निसानामा परेका सरकारी कार्यालयको पुनर्निर्माण थालेको हो । 

आन्दोलनका क्रममा प्रदर्शनकारीको निसानामा पर्दा धेरै सरकारी कार्यालयमा कागजात जलेर खरानी भए, संरचना ध्वस्त भए र कर्मचारी निराश बनेपछि धेरै स्थानमा सेवा प्रवाह ठप्प भएको थियो । आन्दोलनपछि दाङ, बाँके, प्युठान, रुपन्देही र अर्घाखाँचीका सरकारी कार्यालयमा पुगेर क्षति विवरण सङ्कलनसँगै पुनर्निर्माणको काम सुरु भएको हो । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कर्मचारीलाई हौसला दिँदै उहाँले भन्नुभयो, “यो समय हाम्रो धैर्यको परीक्षा हो । तपाईंहरू निराश नहुनुहोस्, प्रदेश सरकार तपाईंहरूसँग छ । नागरिकलाई निराश पार्नु हुँदैन, उनीहरू हाम्रो भरोसामा बाँचिरहेका छन् ।”

 राहत कोषमार्फत सहयोग 

मुख्यमन्त्री आचार्यले केवल उत्साह मात्र दिनुभएन, तत्काल कदम चाल्न थाल्नुभयो । उहाँले क्षतिग्रस्त भई बजेट अभावमा कार्यसञ्चालन गर्न नसकेका कार्यालयलाई राहत कोषमार्फत सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारका अनुसार सेवा सुचारु गर्न समस्या भएका कार्यालयलाई प्रदेश सरकारको राहत कोषबाट सहयोग गर्ने निर्णय गरिएको हो । उहाँका अनुसार रुपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्ला अदालतलाई प्रतिअदालत पाँच लाख, उच्च अदालत तुलसीपुर, उच्च अदालत तुलसीपुर बुटवल इजलास र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासलाई प्रतिअदालत छ लाख, उच्च सरकारी वकिल कार्यालय बुटवल, तुलसीपुर र नेपालगन्जलाई प्रतिकार्यालय पाँच लाख प्रदान गरिने छ । 

मालपोत कार्यालय तुलसीपुरलाई दुई लाख, कारागार कार्यालय तुलसीपुरलाई एक लाख, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही र दाङलाई प्रतिकार्यालय चार लाख, जिल्ला प्रशासन कार्यालय बाँकेलाई पाँच लाख र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई तीन लाख उपलब्ध गराइने जानकारी दिनुभयो । 

सचिव सुनारका अनुसार आन्दोलनका क्रममा संरचना र सेवा प्रभावित भएकाले राहतमार्फत कार्यालयको पुनस्र्थापना र सेवा प्रवाह सहज बनाउन सहयोग गरिएको हो । मुख्यमन्त्री आचार्यले भन्नुभयो, “जनताको काम रोकियो भने आन्दोलनले दोहोरो क्षति गर्छ । एकातिर संरचना भत्किए, अर्कोतिर नागरिक सेवाबाट वञ्चित हुन्छन् । त्यो हामी हुन दिन्नौँ ।”

जनताप्रति हाम्रो जिम्मेवारी 

उहाँले सरकारी कार्यालय मात्र होइन, आन्दोलनमा तोडफोड र आगजनीमा परेका राजनीतिक दलका स्थानीय कार्यालय र निजी व्यावसायिक नेतृत्वलाई समेत भेटेर उत्साह दिनुभएको छ । उहाँले भन्नुभयो, “यो केवल सरकार वा कुनै दलको घाउ होइन, यो हाम्रो सामूहिक पीडा हो । 

त्यसैले यसको उपचार पनि हामी सबै मिलेर गर्नु पर्छ ।” यसरी ‘समावेशी पुनर्निर्माण’ को सङ्केत दिँदै मुख्यमन्त्री आचार्यले व्यक्तिगत पीडाभन्दा माथि उठेर सामूहिक उपचारमा जोड दिनुभएको छ । निराशा, आक्रोश र अव्यवस्थाबिच उहाँको सव्रिmयता प्रदेशवासीका लागि आशाको किरण बनेको छ ।