कुनै उत्साह पनि छैन, जाँगर पनि छैन
सायद मन भत्किएर होला,
मनभित्र खुसीको कुनै प्रहर पनि छैन
आँगनमा–
सधैँ झैँ फेरि आएको छ दसैँ
देश दुखेका बेला
हिजो जस्तै रमाउने रहर पनि छैन
आमाको आँखामा टलपल भरिएको छ आँसु
अन्योलको झरीले रुझिरहेको छ देश
यस्तो परिवेशमा÷यस्तो मौसममा
खै ! के लेख्नु दसैँ कविता
स्थिर छ सपनाको नदी
अन्योल छ उज्यालो
सन्नाटा छ, अशान्ति छ
मधुरो सुन्छु, मालसिरीको धुन
उदास देख्छु आमाको अनुहार
शून्य शून्य छ समय
हिजो जस्तै उल्लासित
कुनै गाउँ छैन, सहर छैन
र पनि अलिकति सद्भाव
अलिकति संस्कृति
अलिकति परम्परा
जोगाउनु छ यो दसैँमा
निधारमा टीका, शिरमा जमरासँगै
सुख समृद्धिको आशीर्वाद थापेर
रमाउनु छ दसैँमा
सायद मन्दिर पर्खिरहेछ
चौतारी पर्खिरहेछ
पर्खिरहेछन् हिजो छाडेर
आएको अतीतका डोबहरूले
गाउँ, लिङ्गेपिङ बनाइरहनू
मालसिरी गाइरहनू
समय प्रतिकूल भए पनि
सबै दुःख बिर्सिएर
सुखद समयको अपेक्षासँगै
राष्ट्र समृद्धिको कामना गर्दै
आउनु छ दसैँमा ।
अपरिहार्य छ
असत्यमाथि सत्यको विजय
अँध्यारोमाथि उज्यालोको विजय
एउटा विजयोत्सवसँगै
राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान र एकताको गीत
गाउनु छ यो दसैँमा ।।