• ११ असोज २०८२, शनिबार

एमसिए–नेपालले टुङ्ग्यायो प्रसारण लाइनको ठेक्का

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ११ गते  । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले निर्माण गर्न लागेको प्रसारण लाइनका सबै खण्डको निर्माण ठेक्का सम्पन्न गरेको छ । 

शुक्रबार एमसिसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत लप्सीफेदी–रातामाटे–नयाँ हेटौँडा सबस्टेसनको ठेक्का सम्झौता गरेसँगै सबै ३१५ किलोमिटरको ठेक्का प्रव्रिmया सकिएको हो । सो खण्डको ठेक्का आशिष–बोज्लर संयुक्त उपव्रmमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रव्रिmयाबाट सात करोड ६६ लाख ५० हजार अमेरिकी डलरमा प्राप्त गरेको एमसिए नेपालले जनाएको छ । यस सम्झौता अन्तर्गत उक्त चार सय केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनलगायतका काम गरिने एमसिए–नेपालले जनाएको छ । 

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशिष–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले सम्झौतामा हस्ताक्षरण गर्नुभएको होे । हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै एमसिसीका आवासीय राष्ट्रिय निर्देशक श्री डायन एल. फ्रान्सिस्कोले नेपाल कम्प्याक्ट कार्यान्वयनमा उल्लेख्य प्रगति भइरहेको भन्दै प्रसारण लाइन निर्माण सफल बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । 

एमसिए–नेपालले नुवाकोटमा निर्माणाधीन रातमाटे सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसनसम्म, उक्त सबस्टेसनदेखि नवलपरासीमा निर्माणाधीन नयाँ बुटवल सबस्टेसनसम्म र नयाँ बुटलवलदेखि नेपाल–भारत सीमासम्म गरी १९८ किमी विद्युत् प्रसारण लाइन निर्माणका लागि यसअघि नै सम्झौता गरिसकेको छ । यसका अतिरिक्त रातमाटे सबस्टेसन, नयाँ दमौली सबस्टेसन र नयाँ बुटवल सबस्टेसन निर्माणसम्बन्धी सम्झौता पनि भइसकेको छ ।