अमृतप्रसाद पौडेल
म्याग्दी, असोज ११ गते । दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारतर्फ लागेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ । दसैँमा नेपाली बजारमा आउनेमध्ये झण्डै आधा बजार नेपाली र चिनिया च्याङ्ग्राले लिने गरेको छ । मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा कन्टेनरमा राखेर काठमाडौँ, पोखरा र त्रिशूलीलगायत ठुला सहरमा ढुवानी गर्न थालिएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका युवा निरज थकालीले पाँच दिन लगाएर जोमसोमदेखि च्याङ्ग्रा लिएर म्याग्दीको रघुगंगा गाउँपालिकाको बैसरी क्षेत्रमा आउनु भएको थियो । उहाँले ल्याएका दुई सय गोटा च्याङ्ग्रालाई त्यही बैसरीबाट कन्टेनरमा चडाएर बिक्रीका लागि पोखरातर्फ लाग्नुभयो । एक दिनमा १२ वटा कन्टेनरमा च्याङ्ग्रा लोड गरेर काठमाडौँ, पोखरा र त्रिसुली सम्म पठाइएको थकालीको भनाइ छ । एउटा कन्टेनरमा ८० वटा च्याङ्ग्रा लोड गरेर पठाउने गरीएको छ । बैसरीसम्म हिँडाएर ल्याएको खसी पोखरा तथा काठमाडौा पठाएपछि त्यही बिक्री हुने गरेको छ ।
हरेक वर्ष सिन्धुपाल्चोकदेखि जोमसोमसम्म पुगेर च्याङ्ग्रा लिएर काठमाडौँमा पुर्याएर बिक्री गर्ने गर्नुहुन्छ दिपक शिलवालले । उहाँसँगै चार जनाको समूहले च्याङ्ग्रा खरिद गरेर काठमाडौँसम्म लैजाने गरेको उहाँको भनाइ छ । यस वर्ष उक्त समूहले तीन सय च्याङ्ग्रा काठमाडौँ लगेको शिलवाल बताउनुहुन्छ । तीन सयमध्ये आधा जति प्रतिगोटा ३५ हजारदेखि ४५ हजारका दरले जोमसोममा खरिद गरेको र बाँकी काठमाडौँमै पुगेर जिउँदो प्रतिकेजी एक हजारमा खरिद गर्ने शिलवालले बताउनुभयो । हजारमा खरिद गरेर अवस्था हेरेर १२ सयसम्ममा काठमाडौँमा बिक्री गर्ने योजना बनाउनुभएका शिलवालले तीन सय च्याङ्ग्रा कन्टेनरमा लोड गरेर काठमाडौँतर्फ लाग्नुभयो ।
जोमसोमका युवा निरजले पनि दुई सय च्याङ्ग्रा कन्टेनरमा लोड गरेर पोखरातर्फ लाग्नुभयो । उहाँ भन्नुहुन्छ, ‘‘चीन तथा डोल्पा, मुस्ताङका गरी १५ हजार हाराहारी च्याङ्ग्रा पहिलो चरणमा मुस्ताङबाट बाहिरीएको छ ।’’ उच्च हिमाली क्षेत्रमा हुर्केबढेका च्याङ्ग्रालाई तल्लो क्षेत्रमा एक्कासी ल्याउँदा गर्मीले समस्या हुन सक्ने भएकाले चारदेखि पाँच दिन लगाएर मुस्ताङदेखि बैसरीसम्म ल्याउने गरिन्छ । त्यसपछि काठमाडौँ तथा पोखरा लगेर बिक्री गर्ने उहाँको भनाइ छ । च्याङ्ग्राको लागि पहिला पोखराको बजार मुख्य भए पनि पछिल्लो समय यातायातको सहजताले गर्दा काठमाडौँ पनि पोखरा जस्तै बजारको रुपमा विकास भएको थकाली बताउनु हुन्छ । मुस्ताङ हुँदै आउने च्याङ्ग्रा हिजोआज पोखरा काठमाडौँ मात्रै नभएर अन्य बजारसम्म पनि पुग्ने उहाँको भनाइ छ ।
गतवर्ष जस्तै यस वर्ष पनि खासै खसीको मूल्य फरक नभएको थकालीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बजारमा ४२–४८ हजारमा बिक्री हुने अड्कल काटिएको छ । मुस्ताङ हुँदै भित्रने खशीहरु हेर्दा कर्णाली प्रदेशका जुम्ला, मुगु, डोल्पा तथा उल्लेख्य मात्रामा चिनियाँ खशी पनि नेपाली बजारमा भित्रिएको छ ।
यस वर्ष रसुवा र तातोपानीबाट चिनियाँ खशी कम आएको हुँदा मुस्ताङ रुटबाट यस वर्ष बढी प्रयोग भएको छ । नेपाली बजारमा आउने खशीहरु मध्ये झण्डै ७० प्रतिशत चिनिया भित्रिएको हुन सक्ने थकालीको भनाइ छ । आफन्तहरु सँगै खशी ब्यपारका लागि आउनु भएका सिन्धुपाल्चोकका दशरथ शिलवालले पनि खसी(च्याङ्ग्रा) कन्टेनरमा लोड गरेर काठमाडौँ लैजानुभयो ।