प्रतीक इच्छुक शर्मा
सल्यान, असोज ११ गते । दसैँ–तिहारका अवसरमा सल्यानका तीन स्थानीय तहले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएका छन् । शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका र कुमाख गाउँपालिकाले वातावरण संरक्षण र स्थानीय किसानलाई प्रोत्साहन दिने उद्देश्यले यस्तो निर्णय गरेका हुन् ।
शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश शमाले किसानले उत्पादन गरेको फूललाई बजार उपलब्ध गराउन प्लास्टिकका फूलमालामा रोक लगाइएको बताउनुभयो । “यो निर्णयले नगरभित्रै उत्पादन भएका फूलले बजार पाउने र किसानलाई आय–आर्जनमा मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो । नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री वा प्रयोग गर्नेहरूलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै प्लास्टिकजन्य माला मात्र होइन, अन्य पटकाजन्य वस्तुको उत्पादन र बिक्रीमा पनि पालिकाले रोक लगाएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा ९१५(१) ले दिएको कानुनी अधिकार प्रयोग गरी कार्यपालिकाको बैठकबाट निर्णय गरिएको हो ।
यस्तै, कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार सोनीले स्थानीय किसानले उत्पादन गरेका फूललाई बजारमा प्राथमिकता दिलाउन प्लास्टिक माला रोक लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय फूल प्रयोग गर्दा किसानको आम्दानी बढ्छ, पैसा बाहिर जानु पर्दैन ।”