• ११ असोज २०८२, शनिबार

आन्दोलनका घाइतेलाई भविष्यको चिन्ता

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज १२ गते  । जेनजी आन्दोलनको अग्रपङ्क्तिमा रहनुभएका बझाङका १८ वर्षीय सुनील थापालाई भदौ २३ गते नयाँ बानेश्वरमा गोली लाग्यो । उक्त गोली थापाको खल्तीको आइफोन छेडेर शरीरको बिच भाग कम्मर हुँदै बाहिर निस्कियो । अचेत अवस्थामा तत्कालै महाराजगन्जस्थित शिक्षण अस्पतालको इमर्जेन्सीमा पु-याइएका थापाको अवस्था अत्यन्तै जटिल थियो । चिकित्सक प्रमोद सेढाईंसहित टिमले तत्कालै जटिल शल्यक्रियासहितको उपचार सुरु गरेका कारण थापाको ज्यान बच्यो । 

थापाको शरीरमा लागेको गोलीले शरीरमा गम्भीर क्षति पु-याएका कारण अर्को शल्यक्रिया गर्नु पर्छ । उपचारमा संलग्न चिकित्सकका अनुसार थापाको कम्मरका मुख्य नसा र मेरुदण्डमा गहिरो असर परेको छ । उच्च शिक्षा अध्ययनका लागि जापान जाने तयारीमा रहनुभएका थापालाई यतिबेला अस्पतालको श-यामा पल्टिरहँदा शरीरको घाउ र भविष्यको चिन्ताले सताउन थालेको छ । उहाँ भन्नुहुन्छ, “चिकित्सकहरू घाउ निको हुन समय लाग्छ भन्नुहुन्छ । अहिलेको खर्च त सरकारले हेर्ला, फलोअपको उपचार खर्च र भविष्यको चिन्ता लाग्छ ।”

सिन्धुपाल्चोकका २८ वर्षीय रवि भण्डारीलाई आन्दोलनका क्रममा महाराजगन्ज चोकमा गोली लाग्यो । काठमाडौँमा राइड सेयरिङको काम गर्दै आउनुभएका भण्डारीलाई शरीरको घाउसँगै मुलुकको भविष्यको चिन्ताले सताएको छ । भण्डारी भन्नुहुन्छ, “भ्रष्टाचार र बेथितिले मुलुक नै बिरामी पुगेको छ । त्यसको अन्त्यका लागि लड्दा हामी घाइते भएका छौँ । अब बिरामी देश र हाम्रो शरीरको घाउ छिटो निको हुन्छ भन्ने अपेक्षा छ ।” घाइते भण्डारीको माग छ– युवाको बलिदानले मुलुकमा ठुलो परिवर्तन सम्भव भएको छ । सहिदको बलिदान र हाम्रो रगत खेर नजाओस् ।

मकवानपुर कुलेखानीका २३ वर्षीय सञ्जय घिसिङको आन्दोलनकै क्रममा हातमा गोली लाग्यो । गोली र छर्राले बनाएको घाउमा सङ्व्रmमण बढेपछि घिसिङलाई घाउ र भविष्यको चिन्ता छ । घिसिङ भन्नुहुन्छ, “डाक्टरहरू घाउ निको हुन समय लाग्छ भन्दै हुनुहुन्छ । पछि पनि निरन्तर फलोअपमा उपचार गर्नु पर्छ भन्ने छ । कसरी कहाँबाट पैसा ल्याएर फलोअप गर्ने ?” प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङलगायतले घाइतेको अवस्थाको जानकारी लिई प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ । 

बलिदान खेर जान दिइँदैन : सञ्चारमन्त्री खरेल 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी युवाले गरेको वलिदानलाई खेर जान नदिने बताउनुभएको छ । आन्दोलनका क्रममा घाइते भएका युवाको स्वास्थ्य अवस्था बुझ्न शुव्रmबार शिक्षण अस्पताल महाराजगन्ज पुग्नुभएका मन्त्री खरेलले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न नवयुवाले बगाएको रगत त्यसै खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । घाइतेसँग मन्त्री खरेलले भन्नुभयो, “तपाईंहरूको स्वास्थ्य अवस्था बुझ्ने उद्देश्यले आएको, तपाईंहरू निको हुनुहोस्, हामी सँगै मिलेर बिरामी मुलुकलाई ठिक पार्नु छ ।” 

उहाँले घाइतेको उपचारमा कुनै समस्या नरहेको र स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको पाइएको बताउँदै जतिसक्दो छिटो बिरामीलाई निको पारेर सामान्य जीवनमा फर्किने अवस्था बन्ने कुरामा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । भेटघाटका क्रममा अस्पतालमा उपचारत घाइतेले मन्त्री खरेलसँग आफूहरू घाइते भएर बाँच्न सफल भए पनि कैयौँ युवाले ज्यान गुमाएको र उहाँहरूका सपना खेर नजाऊन् भनी सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।  मन्त्री खरेलसँग घाइते युवा र अभिभावकले भविष्यमा गर्नुपर्ने उपचारदेखि जीवनपार्जनका लागि सरकारको सहयोग माग गरेका थिए । जवाफमा मन्त्री खरेलले सरकारले आवश्यक सबै प्रकारका सहयोेग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।