• २१ भदौ २०८२, शनिबार

दसैँतिहारमा बिपी राजमार्ग : तैनाथ छन् तिस उपकरण

blog

काठमाडौँ, भदौ २१ गते । काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्गमा दसैँतिहारलगायतका चाडपर्वमा निर्वाध रूपमा सवारीसाधन सञ्चालन गर्न प्रयास गरिँदै छ ।

बिनाअवरोध सवारीसाधन सञ्चालनका लागि राजमार्गको क्षतिग्रस्त खण्डको सतह सुधार गर्नुका साथै आवश्यक प्राविधिक जनशक्ति र उपकरण तैनाथ गरिएको सडक विभागले जनाएको छ । गत वर्ष असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सो राजमार्गमा ठुलो क्षति पु¥याएको थियो । सडक डिभिजन भक्तपुरका सिडिई सुमन योगेशले नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै बिपी राजमार्गमा बिनाअवरोध सवारीसाधन सञ्चालन गर्न आवश्यक तयारी गरिएको बताउनुभयो । राजमार्ग सञ्चालनको क्रममा कुनै पनि समस्या आए त्यसलाई तुरुन्तै सम्बोधन (रेसपोन्स) गर्ने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो । सडक डिभिजन भक्तपुर अन्तर्गत सो राजमार्गको पुनर्निर्माण भइरहेको छ । 

अहिले पनि सो राजमार्गमा बिनाअवरोध सवारीसाधन सञ्चालन हुँदै आएको बताउँदै उहाँले दसैँ सुरु हुनुअघि नै बाढीले क्षति पु¥याएको खण्डलाई सम्म पार्न ‘ग्रेडिङ’ र ‘रोलिङ’ गरिने जानकारी दिनुभयो । ‘ग्रेडिङ’ र ‘रोलिङ’ गरिएपछि अहिले रहेका खाल्टाखुल्टी पुरिएर सडक सतहसम्म हुने र सवारीसाधन थप राम्रोसँग चल्ने उहाँको भनाइ छ ।

त्यसै गरी पहिरो आए पन्छाउन सडक विभागको आफ्नै उपकरण तयारी अवस्थामा राखिएको डिभिजन इन्जिनियर योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ३० वटा उपकरण तयारी अवस्थामा राखिएका छन् । त्यसै गरी प्राविधिकलाई भकुन्डेबेँसीमा तयारी अवस्थामा राखिएको छ । 

अवस्थामा सुधार आएन

बिपी राजमार्गमा सञ्चालन हुने २१० वटा माइक्रोबसका मालिक नारायण भट्टराईले बाढीपहिरोले क्षति पु¥याएको एक वर्ष पुग्न लाग्दा पनि सो राजमार्गको अवस्थामा कुनै सुधार नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजमार्गको मङ्गलटारदेखि नेपालथोकसम्म ८.६ किलोमिटर मुख्य रूपले बिग्रेको छ । बिग्रेको जस्तो थियो अहिले पनि त्यस्तै छ । सडकमा बालुवा थुपार्ने, खाल्डो पुर्ने जस्ता झारा टार्ने काम भइरहेको छ ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, माइक्रोबस संयोजकसमेत रहनुभएका भट्टराईले व्यवसायीले मात्र आफ्नो पेसालाई बचाउन अनेकन दुःख र कष्टका साथ यातायात सञ्चालन गरिरहेको बताउनुभयो ।

तिस किलोमिटर पुनर्निर्माण हुँदै

सिडिई योगेशका अनुसार बाढीले क्षतिग्रस्त बनाएको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको ३० किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माण गर्न लागिएको हो । यसमध्ये २५ किलोमिटरको पुर्निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । ठेक्का सम्झौतापछि निर्माण कम्पनीले काम सुरु गरिसकेका छन् । निर्माण कम्पनीले साइट कार्यालय स्थापना गरी काम सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । ठेक्का पाएका कम्पनीले पुनर्निर्माण गरिने खण्डको सर्भे सम्पन्न गरी निर्माण सामग्रीको परीक्षण (टेस्ट) को काम गरिरहेका छन् ।  भकुन्डेबेँसीदेखि चारसयबेँसीसम्मको निर्माणका लागि एक अर्ब १४ करोड रुपियाँको लागतमा ठेक्का लागिसकेको छ । 

यस खण्डको दुरी ११ किलोमिटर छ । त्यसै गरी चारसयबेँसी–डालाबेँसी सडकको निर्माणका लागि एक अर्ब ४२ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । यस खण्डको लम्बाइ ८.५ किलोमिटर छ । 

त्यसै गरी सिन्धुलीतर्फको बर्खेखोला–नेपालथोक खण्डको निर्माणका लागि ६१ करोड १४ लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको छ । यस खण्डको लम्बाइ चार किलोमिटर छ । निर्माणका लागि सम्झौता हुन बाँकी रहेका पाँच किलोमिटरमध्ये काभ्रेको पिप्लेदेखि डल्लाबेँसीसम्म दुई किलोमिटर पुनर्निर्माणका लागि ठेकेदार कम्पनी छनोटका लागि मूल्याङ्कन प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी बर्खेखोला–पिप्लेसम्म तीन किलोमिटर राजमार्ग खण्डको पुनर्निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा हुन लागेको हो । जापानले सो खण्डको सर्भे सम्पन्न गरी डिजाइनको काम गरिरहेको सिडिई योगेशले जानकारी दिनुभयो । विसं २०७२ सालमा जापानी सहयोग नियोग (जाइका) द्वारा सो राजमार्ग जापान सरकारको २६ विलियन जापानी येन र नेपाल सरकारको १.१ विलियन (जापानी येन) को लागतमा निर्माण गरिएको थियो । आर्थिक वर्ष २०५३/५४ बाट उक्त राजमार्गको निर्माण सुरु गरिएको थियो भने २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो ।