चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ सांस्कृतिक कलाकार परिषद गठन गरिएको छ । परिषदको मङ्गलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले प्रताप पालुङ्वा (देउमान) अध्यक्ष रहेको २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
याक्थुङ सांस्कृतिक कलाकार परिषद् जिल्ला कार्यसमितिको उपाध्यक्षमा दिलमाया माङ्युङ र चतुरमती थाङ्देन, सचिवमा दिलिप लाबुङ, सहसचिव रिना माबो र कोषाध्यक्षमा जसबहादुर हाङ्गाम चयन हुनुभएको छ ।
किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य नवीन पोमुको प्रमुख आतिथ्यतामा कलाकार परिषद्को जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।
जिल्ला अधिवेशनबाट कार्यसमिति सर्वसम्मत चयन गरिएको किराँत याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिवाले जानकारी दिनुभयो । कङ्लिवाका अनुसार किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष डम्बरबहादुर पालुङ्वासहितका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कियाचुको ३७ औं स्थापना दिवसको अवसरमा याक्थुङ सांस्कृतिक कलाकार परिषद्को जिल्ला अधिवेशन सम्पन्न गरिएको हो । यता अधिवेशनको उद्घाटनमा लिम्बू संस्कृतिमा आधारित नृत्य धान नाच (याःलाङ)समेत प्रस्तुत गरिएको थियो ।
यसैबिच स्थापना दिवसका अवसरमा कियाचुले मङ्गलबार पाँच जना विपन्न तथा जेहेन्दार छात्रछात्रालाई सम्मानसमेत गरेको छ । कियाचु जिल्ला सचिव कङ्लिवाका अनुसार खेममाया सिङ्घक आङ्बुहाङ तथा देवीबहादुर आङ्बुहाङ छात्रावृत्ति कोषबाट आयुसा लक्सम्बालाई सम्मान गरिएको छ । सम्मानित छात्रा लक्सम्बालाई १० हजार रुपियाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ ।
यस्तै, किराँत याक्थुङ चुम्लुङ इजरायल छात्रावृत्ति कोषबाट सन्जिव विक र अमिरा लिम्बूलाई सम्मान गरिएको छ । विक र लिम्बूलाई जनही १० हजार रुपियाँ राशि र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । यसैगरी, किराँत याक्थुङ सहयोग कोषबाट सुप्रिया मादेन र सेसेहाङ लिम्बू सम्मानित हुनुभएको छ । सम्मानित मादेन र लिम्बूलाई जनही पाँच हजार रुपियाँ नगद र सम्मानपत्र प्रदान गरिएको कियाचुले जनाएको छ । सम्मानित छात्र छात्रा कक्षा ९ र १० मा अध्ययरन रहेका छन् ।