प्रेम अधिकारी
पशुपतिनगर(इलाम), भदौ १८ गते । इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफ्नो गाउँको विकासमा श्रम गर्ने अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाले कार्यविधि नै बनाएर मासिक रुपमा प्रत्येक घरले महिनामा एक दिन अनिवार्य श्रम गर्ने गरी कार्यविधि बनाएर लागू गरेपछि अभियान सञ्चालन गरिएको हो ।
गाउँपालिकामा रहेका ५७ वटा टोलविकास संस्थामार्फत प्रत्येक घरले महिनामा एक दिन श्रम गर्न थालिएको छ । स्थानीय स्तरका सडक मर्मत, नालीको सरसफई, विद्यालय घेराबार ,मठमन्दिरको पुनर्निर्माण, सामुदायिक वनमा वृक्षरोपणदेखि सरकारी, सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय नागरिक सक्रिय भएर लागेको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो ।
उहाँले विकासपछिको व्यवस्थापनमा अहिलेसम्म ध्यान नपुगेका कारण विकाश भएर पनि संरक्षण हुन नसेका संरचनको संरक्षणका लागि नागरिकलाई नै सक्रिय गराइएको जानकारी दिनुभयो ।
गाउँपालिकाले सुरुमा कार्यविधि बनाएर गाउँपालिका भित्रका ५७ वटै टोल विकासका पदाधिकारीलाई टोल विकासको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिएको थियो । पालिकालले टोल विकाशको मासिक बैठकलगायतका लागि आवश्यक सामग्रीसहित प्रत्येक टोल विकास सञ्चालनका लागि वार्षिक २० हजार रुपियाँका दरले बजेटको व्यवस्थापन गरेको छ ।
अनिवार्य श्रम नगरे वडाको सिफारिस रोक्नेसम्मको कानुन निर्माण गरेको गाउँपालिकाले नीति निर्माण गरेर स्थानीय स्तरको व्यवथापकीय पक्षलाई मजबुत बनाउनका लागि टोल विकास संस्थामार्फत नागरिक परिचालन गरीएको गाउँपालिका अध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘‘हामी सीमित बजेटमा काम गर्छौ, सबै ठाउँमा एकै पटक बिकास गर्न सम्भव छैन, नागरिकले सरकारलाई दोष मात्र दिइने होइन, सरकारले गरेका काममा सघाउनुपर्छ भन्ने बानीको विकास गराउन खोजेका हौँ ।’’
गाउँपालिकाको रम्भ्याङको थर्पु टोल विकास संस्थाका अध्यक्ष युवराज आचार्यले गाउँपालिकाले सुरु गरेको श्रम संस्कृतिको अभियानमा नागरिकले उल्लेखनीय साथ दिएको जानकारी दिनुभयो । उहाँले सडकमा थुपारिएको गोलिया(काठ) हटाउन र गोलिया ओसारपसार बन्द गर्न टोल विकास संस्था लागि रहेको जानकारी दिनुभयो । सडक किनारमा राखिने गोलियाका कारण र ठूला सवारीमा गोलिया बोकेपछि सडक भत्किएर जाने भएकाले त्यसलाई हटाउन रोक्ने काम गरी सडक मर्मतको काम उक्त क्षेत्रमा टोल विकासमार्फत नागरिकले गरिरहेका छन् ।
मेची राजमार्गले छोएर झापा र भारतसँग सिमाना जोडिएको उक्त गाउँपालिका भौगोलिक रुपमा निक्कै विकट छ । आफ्नै पालिकाका कतिपय वडा जानका लागि झापा भएर मात्र पुगिन्छ । नागरिकको सहभागितामा विकासका सानातिना काम गर्दा पालिकाको खर्च समेत कम भएर जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले जानकारी दिनुभयो । उहाँले नागरिक आफैँ सहभागि भएर गरिएका काममा नागरिकको समेत दायित्व र अपनत्व हुने भएकाले श्रम संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो ।
स्थानीयले सडक मर्मतदेखि संरक्षणका काम गर्न थालेपछि अहिले गाउँपालिकाको मुहार फेरिँदै गएको छ । उक्त अभियानका कारण पालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थल स्वच्छ र सफा बन्दै गएको चामेटार टोल विकास संस्थाका अध्यक्ष प्रदीप भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाले कार्यविधि बनाएपछि हामीलाई सबैलाई काममा एकजुट गराउन सहज भएको छ, आफनो गाउँ आफैँ बनाउनुपर्छ भन्ने संस्कृतिको यो अभियानले विकास गरेको छ ।’’ श्रम अभियानमा पालिका र वडाका जनप्रतिनिधि समेत सँगसँगै खटने गरिएको गाउँपालिका विष्णुमाया खवासले जानकारी दिनुभयो ।
कृषि क्षेत्रअन्तर्गत गुन्द्रुक, करेला, सिस्नो , कुचो, बेसार, महलगायतको उत्पादन, ब्राण्डिङ र बजारीकरणमा लागेको गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि मासिक रुपमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।