जकार्ता, भदौ १८ गते । गत हप्ता इन्डोनेसियामा भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ । यो तथ्य राष्ट्रिय मानव अधिकार आयोग (कोम्नास ह्याम)ले बुधबार पुष्टि गरेको हो । अशान्तिका कारण मृत्यु भएको रिपोर्ट गर्ने अन्य अधिकार समूह पनि छन् ।
विरोध प्रदर्शन आर्थिक असमानता र सांसदका लागि भव्य सुविधाप्रति असन्तुष्टिबाट उत्पन्न भएको थियो । अर्धसैनिक एकाइले एक युवा चालकको हत्या गरेको फुटेज सार्वजनिक भएपछि प्रदर्शनकारीले प्रहरीविरुद्ध आक्रोश व्यक्त गर्न थाले । कोम्नास ह्यामका प्रमुख अनिस हिदायाहका अनुसार मृतकमध्ये केही अधिकारीको अत्यधिक बल प्रयोगका सिकार भएका हुनसक्ने सङ्केत छन् । मृतक ग्रेटर जकार्ता, दक्षिण सुलावेसीको मकस्सर, मध्य जाभा र पपुवा क्षेत्रमा रहेका छन् ।
अनिसका अनुसार नौ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् र हजारौँलाई हिरासतमा लिइएको छ, जसमा अधिकांशलाई पछि रिहा गरिएको छ । “अन्य धेरै स्थानहरूले अहिलेसम्म निष्कर्ष रिपोर्ट गरेका छैनन्; तथ्याङ्क बढ्ने सम्भावना छ”, उहाँले भन्नुभयो । इन्डोनेसियाका गैरसरकारी संस्था कानुनी सहायता फाउन्डेसन (वाइएलबिएचआई) र एम्नेस्टी इन्टरनेसनलले पनि १० जनाको मृत्यु र सयौँ घाइते भएको पुष्टि गरेका छन् ।
बेपत्ता र हिंसाका पीडितका लागि आयोग (कन्ट्रास) ले सोमबारसम्म कम्तीमा २० जना बेपत्ता भएको जानकारी दिएको छ । विरोध प्रदर्शनले सुरुमा राष्ट्रपति प्रबोवो सुबिआन्तोको चीन भ्रमण रद्द गराउन बाध्य बनायो । तर राज्य सचिवालयमन्त्री प्रसेटिओ हादीले मङ्गलबार स्थिति शान्त भएको बताएपछि राष्ट्रपति भ्रमणमा जाने योजना बनाउनुभएको छ ।
प्रबोवोले बुधबार बेइजिङमा भव्य सैन्य परेडमा भाग लिनुभएको थियो र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पनि ‘अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको सबै कथित उल्लङ्घनको द्रुत, गहन र पारदर्शी अनुसन्धान’ गर्न आह्वान गरेको छ । राष्ट्रिय प्रहरीले टिप्पणीका लागि अनुरोधमा तत्काल जवाफ दिएको छैन । रासस/एएफपी