• १८ भदौ २०८२, बुधबार

खुलेन तातोपानी नाकास्थित इको पहिरो सडक

blog

बाह्रबिसे–कोदारी लोकमार्गस्थित इको पहिरोका कारण बन्द कोदारी सडकखण्ड ।

चित्रकुमार मिजार

सिन्धुपाल्चोक, भाद्र १८ गते । बाह्रबिसे–कोदारी (२६किमी) लोकमार्ग अन्तर्गत कोदारी सडक खण्डको इको पहिरो महिना दिन बित्दा समेत खुलेको छैन् । 

यस बिचमा दुईचार दिन सडक खुले पनि बर्षातले पुनः पहिरो आएपछि सडक बन्द हुँदैआएको छ । तीन साता बन्द भएको कोदारी सडक खण्डको इको पहिरोस्थल गएको बिहीबार चार दिन सञ्चालनमा आएको थियो । 

आइतबारसम्म खुलेको इको पहिरो त्यसैरात पुनः पहिरो आएपछि बन्द भएको थियो । आइतबारदेखि हालसम्म इको पहिरो सडक सञ्चालनमा आउन सकेको छैन । इको पहिरो सडक खण्ड नखुल्दा व्यापारी व्यवसायी मारमा परेको नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताउनुभयो ।  

इको पहिरो पन्छाएर पछि चार दिन सञ्चालनमा रहेको इको पहिरो सडकहुदै ५०–६० वटा सामग्री बोकेका कन्टेनर तातोपानी भन्सार पुगेको थियो । ती कन्टेनरहरुले फलफूलजन्य, मसलाजन्य र चाडपर्व लक्षित सामान बोकेका थिए । सोही समयमा तातोपानीबाट चीनतर्फ ३०–३५ वटा खाली कन्टेनर सामान बोक्न गएका थिए । 

सडक खुलेका समयमा स्याउ, नास्पाती, अंगुर, लसुन, प्याजलगायतका फलफुलजन्य बस्तु तातोपानी भन्सार प्रवेश पाएका थिए । बन्द रहेका समयमा पहिरो स्थलबाट फलफुलजन्य र मसलाजन्य बस्तु मजदूरलाई बोकाएर तातोपानी भन्सार जाँचपासका लागि पठाइएको थियो । 

चीनको ल्हासा, सिँगात्से, न्यालाममा एक हजार पाँचसय बढी मालबस्तु बोकेका कन्टेनर थन्किएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिनुभयो ।