बोमलाल गिरी
नवलपुर, भदौ १८ गते । नवलपुरको कावासोतीमा नमुना सदरमुकाम निर्माणको काम गरिरहेको कम्पनीले आफ्नै स्टाफले रड चोरेर बेचेको आरोप लगाएको छ ।
सदरमुकाम निर्माणको ठेक्का पाएको रौतहटको चौधरी कन्स्ट्रक्सन प्रालिले आफनै स्टाफ जुम्लाका सुवास शाहीले ६५ बण्डल फलामको रड चोरेर बजारमा बिक्री गरी १० लाख रुपियाँ असुली गरी फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
कम्पनीका ठेकेदार उपेन्द्रप्रसाद चौधरीले शाहीलाई खोजिदिन प्रहरीसँग आग्रह गर्नुभएको छ । चौधरीले प्रहरीलाई दिएको निवेदनमा भनिएको छ, ‘‘शाहीलाई रेखदेखको जिम्मा दिएको र नमुना सदरमुकाम बनाउने सामग्री चोरी गरेर बेचेर १० लाख रकम बुझेर फरार भएकाले निजलाई खोजि गरी झिकाइ दिनहुन अनुरोध छ ।’’
गोरखापत्रले ‘निर्माणस्थलबाट गायव भयो ६५ बण्डल रड’ शीर्षकमा समाचार छापेको थियो । घटना दुई महिनाअघिको भए पनि गोरखापत्रले समाचार छापेपछि घटना सार्वजनिक भएको थियो । आफू भारत गएको बेलामा शाहीले रड चोरेर हार्डवेयर पसलमा बेचेको चौधरीको दावी छ । ‘‘म तीन–चार महिनाका लागि शाहीलाई जिम्मेवारी दिएर भारत गएको थिएँ, त्यही मौकामा ६५ बण्डल रड गायब भएको छ’’ चौधरीले भन्नुभयो, ‘‘अहिले शाही फरार छन्, फोन गर्दा पनि उठ्दैन ।’’
प्रहरीले भने निवेदन दिने ठेकेदार चौधरी नै सम्पर्कमा नआएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले दुई महिनाअघि निवेदन दिए पनि निवेदक चौधरी र आरोपी शाही दुबै जना सम्पर्कमा नआएको बताउनुभयो । शाहीलाई त्यतिबेलै फोन गरेर कार्यालयमा उपस्थित हुन आग्रह गर्दा आउँछु भनेर पनि सम्पर्कमा नआएको ढकालले बताउनुभयो ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यस विषयमा कार्यालयमा उजुरी नपरेकोले कुनै जानकारी नभएको बताउनुभयो । ‘‘बरु निर्माणको काम सुस्त भयो भनेर सडक आयोजनालाई ताकेता गर्न भनेका छौं, रड हराएको बारेमा भने कुनै गुनासो आएको छैन’’ प्रजिय पाण्डेले भन्नुभयो ।