चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ १८ गते। ताप्लेजुङका स्थानीय साहित्य सर्जकले बुधबार सिर्जना वाचन गरेका छन्। १८ औं पुस्तकालय तथा साहित्यकार जगमोहन शाक्य स्मृति दिवसको अवसरमा स्थानीय साहित्यकारले सिर्जना वाचन गरेका हुन्।
कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठान ताप्लेजुङको आयोजनामा भएको साहित्यिक उत्सव कार्यक्रममा स्थानीय सर्जकले विभिन्न विधाका सिर्जना वाचन गरेका छन्। प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले फुङ्लिङमा आयोजित कार्यक्रममा सर्जकहरुले आ–आफ्नो सिर्जना गरेका जानकारी दिनुभयो।
अध्यक्ष भट्टराईका अनुसार कविता, गजललगायत विधाका सिर्जनाहरु साहित्य सर्जकहरुले वाचन गरेका थिए। हरेक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउने गरिए पनि स्वर्गीय साहित्यकार जगमोहन शाक्यको स्मृति दिवसको अवसर पारेर पुस्तकालय दिवससमेत सँगै मनाइएको उहाँले बताउनुभयो। उहाँका अनुसार यो वर्ष पुस्तकालय दिवसको नारा ‘हाम्रो पुस्तकालय, हाम्रो भविष्य’ भन्ने रहेको थियो।
यता वि.सं १९९० साल जेठ २६ गते जन्मिनुभएका ताप्लेजुङका अग्रज साहित्यकार जगमोहन शाक्यको २०६६ साल भदौ १८ गते मृत्यु भएको थियो। स्वर्गीय साहित्यकार शाक्यको वार्षिक पुन्यतिथि अर्थात स्मृति दिवसको अवसरमा सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।
सिर्जना वाचनसँगै स्व. शाक्यले साहित्य क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गरिएको थियो। वि. सं २०१० सालदेखि नै हस्तलिखित कविता विधाबाट साहित्य यात्रा सुरु गर्नु भएका शाक्यले २०१५ सालमा ‘उपहार’ नामक कथा सङ्ग्रह प्रकाशित गर्नुभएको थियो। उहाँको उक्त पहिलो कृतिपछि २०१८ सालमा ‘बाह्र मसला’ कथा संग्रह, ‘जिन्दगीका फाँटहरु’, ‘मनका उच्छवबास’ गीत गजल सङ्ग्रह प्रकाशित गर्नु भएको थियो।
त्यस्तै ‘हारेको सपना’ कथा सङ्ग्रहसहित स्व. शाक्यका छ वटा कृति प्रकाशित भएका थिए। जिल्लाका साहित्यकारहरुका लागि साहित्यिक प्रेरणाको स्रोतका रुपमासमेत परिचित शाक्यले आफ्नो जीवनको उत्तरार्धमा लेख्नुभएको ‘गौरीशंकर’ खण्डकाव्य भने प्रकाशित गर्न नपाई उहाँको निधन भएको छोरा सुन्दरमोहन शाक्यको भनाइ छ। कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ लगायतको उपस्थिति रहेको थियो।