दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ १७ गते। वीरगञ्जमा भदौ ६ गते शुक्रबार तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएसँगै फैलिएको झाडापखाला एवम् हैजाको सङ्क्रमण कम हुँदै गएको छ।
भदौ १७ गते मंगलबार साँझ ५ बजेसम्म हैजाको सङ्क्रमण पुष्टि भएका ९३ प्रतिशत भन्दा बढी बिरामी उपचारपछि निको भएर घर फर्किएका छन्।
दैनिक झाडापखाला लागेर अस्पताल पुग्ने र हैजा सङ्क्रमण पुष्टि हुने बिरामीको संख्या घट्दै जानु अनि धेरै उपचाररत बिरामी दैनिक निको भएर घर फर्किनुले वीरगञ्जमा फैलिएको हैजा अब केही दिनमा नियन्त्रणमा आउने संकेत भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंह बताउनु हुन्छ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंह भन्नुहुन्छ , ‘यस्तै अवस्था रहने हो भने अबको तीन/चारदिन भित्र अस्पतालमा हैजा सङ्क्रमित बाँकी रहदैनन्। हैजा पूर्णरुपमा नियन्त्रणमा आउँछ।’
नारायणी अस्पतालमा उपचार गराएका बिरामीलाई औषधी तथा उपचार सम्पूर्ण निःशुल्क रहेको भए पनि अन्य अस्पतालमा उपचाररत बिरामीलाई भने त्यस्तो सुबिधा मिलेको थिएन्। निःशुल्क औषधी उपचार पाउने भएकाले कूल अस्पतालमा भर्ना भएका ९१२ जना मध्ये नारायणी अस्पतालमा मात्र चार सय ८५ जना उपचार गराउन भर्ना भएका थिए।