• १८ भदौ २०८२, बुधबार

सिन्धुली सम्पदाको राजधानीमा चर्चा

blog

मार्टिन चौतारीद्वारा आयोजित ‘सिन्धुलीका सम्पदा संरक्षणका चुनौती’ विषयक छलफलमा पत्रकार दीपक श्रेष्ठ र सम्पदा संरक्षणकर्मी सौरभ ढकाल ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १७ गते । सिन्धुली जिल्लाका सम्पदाको अवस्था र संरक्षणमा भएका प्रयासबारे राजधानीमा मङ्गलबार छलफल सम्पन्न गरिएको छ । मार्टिन चौतारीद्वारा आयोजित ‘सिन्धुलीका सम्पदा संरक्षणका चुनौती’ विषयक छलफलमा पत्रकार दीपक श्रेष्ठ र सम्पदा संरक्षणकर्मी सौरभ ढकालले सम्पदा संरक्षणका क्षेत्रमा भए गरेका अनुभव सार्वजनिक गर्नुभयो । 

उहाँहरुले सिन्धुलीको ऐतिहासिक पृष्ठभूमि, मूर्त सम्पदा संरक्षणमा नागरिकको सहभागिता र स्थानीय सरकारको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

सञ्चारकर्मी दीपक श्रेष्ठले इतिहासका विभिन्न कालखण्डमा निर्माण भएका सम्पदा नै इतिहासका जीवित प्रमाण भएकाले तिनको संरक्षणसँगै नागरिकको सहभागिता बढाउँदै पर्यटन उत्पादनका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सम्पदा संरक्षणका लागि स्थानीय सरकार, कर्मचारी र जनप्रतिनिधिलाई स्पष्ट निर्देशनसहितको कानून बन्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै, संरक्षणकर्मी सौरभ ढकालले राज्यले सम्पदा संरक्षणका लागि स्पष्ट नीति दिनुपर्ने तर सम्पदाको संरक्षण र पर्यटन प्रवर्धनमा निजी क्षेत्र र नागरिकको सहभागितामा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले सम्पदा संरक्षण भन्ने वित्तिकै संरचना निर्माणमा बढी जोड दिइने गरिएको तर त्यसभित्रका इतिहास, कला, संस्कृतिको मिहिन ढङ्गले अध्ययन र संरक्षणमा ध्यान नदिएको बताउनुभयो ।

उहाँहरुले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै नागरिकको सहभागिताविना सम्पदाको संरक्षण दीगो नहुने बताउनुभयो ।