काठमाडौँ, भदौ १८ गते । एक हप्तामा २६० जनामा डे सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक हप्तामा २६० जनामा डेङ्गु पुष्टि भएसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या तीन हजार ८११ पुगेको छ । हालसम्म दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ ।
महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार हालसम्म ७४ वटा जिल्लाबाट डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ।
गण्डकी प्रदेशमा एक हजार ३८ जनामा डेङ्गु पुष्टि भएको छ। त्यसैगरी बागमतीमा ७९६, कोशीमा ६३५, लुम्बिनीमा ६७०, सुदूरपश्चिममा ४४७, कर्णालीमा १४८ र मधेशमा ७७ जनामा डेङ्गु पुष्टि भएको छ ।
चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्।
त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ ।