ज्ञानु पंगेनी
मध्यविन्दु , भदौ १९ गते । नवलपुरको बौदीकाली गाउँपालिकाले पालिका बाहिर रहेका आफ्ना नागरिकलाई पायक पर्ने गरी कावासोती नगरपालिकामा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण शिविर सञ्चालन गरेको छ । बुधबारदेखि सुरु भएको शिविर शनिबारसम्म सञ्चालन हुने छ ।
शिविरमा वडा नं. १ का वडा सचिव हेमन्त घिमिरे, वडा नं. ६ का सचिव हेमलाल काफ्ले र कम्प्युटर अपरेटर विनोद विक नवीकरणको काममा खटिनुभएको छ । शिविरमा पहिलो दिननै ३० जनाभन्दा बढीले सेवा लिएको सचिव घिमिरेले जानकारी दिनुभयो ।
पालिकामा अझै पाँच सय हाराहारी लाभग्राहीले नवीकरण गर्न बाँकी रहेको घिमिरेले बताउनुभयो । यहाँ चारदिनसम्म चल्ने शिविरबाट तीन सय हाराहारीको नवीकरण गर्ने अनुमान गरिएको उहाँको भनाइ छ ।
शिविरमा बौदीकाली गाउँपालिका– ३ का अध्यक्ष तेज बहादुर थापा समेत खटिनुभएको छ । आफ्ना नागरिक सरकाबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भनी पालिकाले यसरी शिविर मार्फत नवीकरणको काम गरेको उहाँले बताउनुभयो । कतिपय लाभग्राही निकै अशक्त र वृद्ध वृद्धा भएको हुँदा बोकेर रै लैजानुपर्ने अवस्था समेत रहेको हुँदा त्यस्ता लाभग्राहीलाई पायक पर्ने स्थानमा नवीकरण सेवा उपलब्ध गराएको उहाँले बताउनुभयो ।
बौदीकाली ६ स्थायी घर भएर अहिले कावासोती ३ मा बसोबास गर्ने वृद्ध भत्ताको नवीकरण गर्न आउनुभएकी लाभग्राही धनसरि विकले आफू बसेकै ठाउँबाट परिचय पत्र नवीकरण गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । ‘‘आफू एक्लै वडामा गएर नवीकरण गर्न नसक्ने हुँदा कसरी जाने होला भनी चिन्ता मानेर बसेको वेलामा बसेकै स्थानबाट नवीकरण हुने रे भनी थाहा पाउँदा नै खुसी लागेको थियो । आज त नवीकरणको काम पनि भयो । धेरै सजिलो भयो ।’’ विकले भन्नुभयो ।
बौदीकाली गाउँपालिका जिल्लाको पहाडी पालिका हो । यहाँका धेरै नागरिकहरू शिक्षा, स्वास्थ्य तथा रोजगारका लागि जिल्लाको बजार क्षेत्र कावासोती, मध्यविन्दु, देवचुली, गैंडाकोट, हुप्सेकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्नका लागि मात्रै पालिका पुग्न असहज र गाह्रो हुने नागरिकलाई लक्षित गर्दै बौदीकाली गाउँपालिकाले चार दिनसम्म शिविर नै चलाएर सेवा उपलब्ध गराएको पालिका अध्यक्ष प्रकाश ओझाले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा नियमावली २०७६ को नियम (९) र सामाजिक सुरक्षा वितरण कार्यविधि २०७७ को दफा (४ अनुसार) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले प्रत्येक आर्थिक वर्षको भाद्र मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफैँ उपस्थित भई परिचयपत्र नवीकरण गर्नु पर्ने व्यवस्था गरिएको छ । तर विभिन्न कारणवश पालिका बाहिर रहेका लाभग्राहीहरूको परिचय पत्र नवीकरण गर्न छुट नहोस् भन्ने उद्देश्यले पालिकाले सबैलाई पायक पर्ने स्थान कावासोती नगरपालिकामा शिविर सञ्चालन गरी सेवा दिएको अध्यक्ष ओझाले बताउनुभयो । पालिकाका वडाहरू कतिपय विकट ठाउँमा रहेको वर्षाको समय भएकाले समेत बाटोघाटोले पनि समस्या हुने र ज्येष्ठ नागरिक तथा अशक्तहरूलाई वडा कार्यालयमै पुगेर परिचयपत्र नवीकरण गर्न असहज समेत हुने भएकाले आफ्ना नागरिकले प्राप्त गर्ने सेवालाई सरल र सहज बनाउनका लागि पनि शिविर मार्फत सेवा उपलब्ध गराएको अध्यक्ष ओझाको भनाइ छ ।