सुधा देव
भारदह (सप्तरी), भदौ १८ गते । राजविराजको मुटुमा रहेको जिल्लाको एकमात्र सुविधासम्पन्न सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालको मुख्य गेट बन्द भएपछि बिरामीले सास्ती व्यहोर्नुपरेको छ ।
अस्पतालको पश्चिममा रहेको मूल गेट बन्द भएको ६ महिनाभन्दा बढी भइसक्दा समेत खुल्न नसकेपछि बिरामीले समस्या भोग्नुपरेको स्थानीयले बताउनुभएको छ ।
यस अस्पतालको मुख्य गेट पश्चिमतर्फ र अर्को गेट उत्तरतर्फ रहे पनि पश्चिमतिरको गेट पूर्णरूपमा बन्द भएपछि अहिले अस्पतालको उत्तरतर्फको एकमात्र गेट सञ्चालनमा भएपछि पश्चिमतिरको गेटबाट अस्पतालभित्र आउने जाने बिरामीलाई समस्या हुँदै आएको हो ।
अस्पताल जस्तो संवेदनशील स्थानको गेट बन्द राख्न कति उचित हो ? स्थानीय कंचन झाले भन्नुभयो । खोल्न स्थानीयले पटकपटक निवेदन दिँदा पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गेट बन्द भएका कारण यो गेटबाट दिनहुँ दर्जनौं सिकिस्त बिरामी फर्कनुपर्ने बाध्यता छ । सिकिस्त बिरामीलाई कतिबेला अस्पताल पुगेर उपचार सुरू होस् हुन्छ । यहाँ आइपुग्दा गेट नै बन्द रहन्छ । तर पनि अस्पताल प्रशासन मौन छ ।’’
अस्पतालमा भएको गेटहरू खुला हुनुपर्छ, तर मेन गेट नै बन्द भएपछि बिरामीले सास्ती मात्र ब्यहोर्नुपरेको छैन । कति विरामी त समयमा अस्पताल पुग्न नसकेर ज्यान गुमाउनुपरेको स्थानीय खेलानन्द दासले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अस्पताल प्रशासनको बदमासी र कमिसनको खेलका कारण सुनुवाइ नभएको अवस्था छ ।’’
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशप्रसाद साहले स्वास्थ्यकर्मीहरूको आवासको छेउमा गेट भएकोले बन्द भएको बताउनुभयो ।