• १८ भदौ २०८२, बुधबार

रूसी ड्रोन आक्रमणले युक्रेनमा हजारौँ घरमा बिजुली कटौती

blog

किएभ, भदौ १८ गते । रूसी सेनाले युक्रेनमा ५० हजारभन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेपछि मुख्यतया देशको पश्चिमी भागमा विद्युत आपूर्ति ठप्प भएको युक्रेनी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

किएभमा एएफपीका पत्रकारले आक्रमणका क्रममा राजधानी र हवाई रक्षा प्रणालीमाथि विस्फोट सुनेका थिए । यो आक्रमण भ्लादिमिर पुटिनको चीन भ्रमणको समयमा भएको थियो । युक्रेनी अधिकारीका अनुसार बेलायतका रक्षामन्त्री जोन हेली सुरक्षा सहयोगबारे वार्ताका लागि युक्रेन आइपुगेको समयमा पनि आक्रमण जारी रह्यो ।

उत्तरी चेर्निगिभ क्षेत्रका प्रमुख भाचेस्लाभ चौसले भन्नुभयो, “नागरिक पूर्वाधारमा ड्रोन आक्रमणपछि ३० हजार मानिस बिजुलीविहीन भएका छन् ।” युक्रेनको वायु सेनाले मस्कोले पाँच सय दुई ड्रोन र २४ मिसाइल प्रहार गरेको जनाएको छ । देशको पश्चिममा क्षेत्रीय अधिकारीले धेरै मानिस घाइते भएको र आवासीय घर तथा नागरिक पूर्वाधार क्षतिग्रस्त भएको जानकारी दिएका छन् ।

“१४ स्थानमा तीन वटा मिसाइल र ६९ वटा स्ट्राइक ड्रोन प्रहार गरियो र खसालिएका प्रोजेक्टाइलको भग्नावशेष १४ स्थानमा खस्यो”, वायुसेनाले भनेको छ । किरोभोग्राड क्षेत्रका अधिकारीले आक्रमणमा चार जना रेलवे कर्मचारी घाइते भएको र दर्जनौँ आवासीय भवन क्षतिग्रस्त भएको बताए । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आफ्नो पूर्ण आक्रमण सुरु गरेदेखि देशमा लगातार रात्रिकालीन ड्रोन र मिसाइल आक्रमण जारी राखेको छ, जसले दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा घातक द्वन्द्व निम्त्याएको छ । रासस/एएफपी