चितवन समाचारदाता
चितवन, भदौ १९ गते । नारायणगढ बजारको मध्यभागबाट बग्ने पुङ्गीखोला नजिक आएपछि नाक थुन्नुपर्ने अवस्था थियो । सबैले यही खोलामा फोहोर फाल्ने र आसपासका जग्गा कब्जा गरेर संरचना निर्माण गर्ने गरिएको थियो । बर्सातमा खोलाले आफ्नो रूप देखाएपछि मात्र सबैले सम्झिने गरेका थिए । अब भने यहाँको अवस्था फेरिएको छ ।
भरतपुर महानगरपालिकाले बजारको मुख्य क्षेत्रबाट बग्ने पुङ्गीखोलाको संरक्षणसँगै सौन्दर्यीकरण कार्यलाई अगाडि बढाएपछि यसको मुहार फेरिएको हो । भरतपुरको बाइपास सडकदेखि शिवघाटनजिकबाट नारायणी नदीमा मिसिने यो खोलाको लम्बाइ ६.३ किलोमिटर रहेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले भन्नुभयो, “महानगरको प्रमुख बजार क्षेत्र नारायणगढ हो । यहीँबाट बगेको यो खोलाको सफाइ मात्र होइन, संरक्षण आवश्यक ठानेर हामीले अभियान नै चलाएका थियौँ, गरे के हुँदैन भनेर देखाएका छौँ,” दाहालले भन्नुभयो । मुख्य बजार क्षेत्र भएर बग्ने भएका कारण यसको जग्गा संरक्षण गर्न, मिचेको जग्गा फिर्ता ल्याउन धेरै जटिल हुँदाहुँदै पनि धेरै जसो जग्गा फिर्ता ल्याइसकेको उहाँले बताउनुभयो ।
“हरेक वर्ष यसको सौन्दर्यीकरणमा रकम छुट्याएर काम गरेका छौँ । खोलामा फोहोर फाल्न नदिने व्यवस्था गरेका छौँ । बजारको मुख्य स्थान भएकाले मानिसको चहलपहल धेरै हुने कुरा ध्यानमा राखी खोलाको दायाँबायाँ फुटपाथ निर्माण गरेका छौँ,” महानगर प्रमुख दाहालले भन्नुभयो ।
महानगरको दायित्व एउटा मात्र नभएर सबै क्षेत्रमा हेर्नुपर्ने भएकाले यसमा महानगरसँगै सङ्घको लगानीमा पनि निर्माणको काम भइराखेको उहाँले जानकारी दिनुभयो । घना बस्तीबिच बग्ने खोलालाई प्राकृतिक रूप दिनका लागि सरसफाइसँंगै यसको दायाँबायाँको क्षेत्र विस्तार गरेर बोटबिरुवा लगाउने कार्य गरिएको छ । भरतपुर महानगरपालिकाले कञ्चन पानी बग्न दिने गरी काम गर्दै आएको महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सौन्दर्यीकरणका लागि अहिलेसम्म १७ करोड ४० लाख रुपियाँ खर्च भइसकेको छ ।
सङ्घ र महानगर दुवैको लगानीमा यहाँ काम भइराखेको छ । नारायणी नदीमा मिसिने स्थान र नारायणगढको क्षेत्रपुरबाट यसको सौन्दर्यीकरणको काम भइराखेको छ । अहिलेसम्म खोलाको दुवैतर्फ संरक्षण र फुटपाथ गरेर चार किलोमिटरको काम भएको छ । चालु आर्थिक वर्षमा पनि यसको निर्माण भइराखेको महानगरपालिकाले जानकारी दिएको छ । सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपडबहादुर थापाले सङ्घ र महानगरपालिकाको लगानीमा सौन्दर्यीकरण भइराखेको बताउनुभयो । कञ्चन पानी बगाउने, ढुङ्गा बिछ्याएर फुटपाथ निर्माण गरिने, साइकल लेन बनाउने, मानिस बस्नका लागि कुर्सीको व्यवस्था गर्ने, विभिन्न जातका वनस्पति तथा फूल रोप्ने र सुन्दर पार्क निर्माण गर्ने गरी काम भइराखेको थापाले बताउनुभयो ।
भरतपुर महानगरपालिका–१० का केशव पौडेलले भन्नुभयो, “बिहान दौडिन जाँदा जङ्गलछेउ खोज्दै जाने गरिएको थियो तर अहिले पुङ्गीखोलामा हिँड्न मिल्ने बनाएपछि यही आउँछु ।” उहाँ मात्र होइन, मर्निङ वाक गर्नेको प्रमुख स्थान नै यही खोलाकिनार भएको छ । खोलाको संरक्षणसँगै हिँड्न मिल्ने ठाउँ बनेपछि नारायणगढ बजार जाने छोटो बाटोसमेत निर्माण भएको स्थानीय गणेश पौडेलले बताउनुभयो । निर्माण पूरा भएपछि यहाँ बग्ने पानी सफा गरी बोटिङको व्यवस्थासमेत गर्ने महानगरको तयारी रहेको छ । केही वर्षअगाडिसम्म यही खोलाको बाटो भएर हिँड्दा नाक थुन्नुपर्ने अवस्था बदलिएर अब तस्बिर खिच्ने स्थल बन्न थालेको छ ।