• १८ भदौ २०८२, बुधबार

एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि ललितपुरमा

blog

पत्रकार सम्मेलनमा एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई, नेता लालबाबु पण्डित र केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम । तस्बीर : केशब गुरुङ

  • विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको छ । स्थायी कमिटीमा कम्तीमा एक महिला अनिवार्य हुने प्रावधानसमेत प्रस्ताव गरिएको छ ।

काठमाडौँ, भदौ १८ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते बिहान ११ बजे विशेष समारोहका बिच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजक समितिका ३१५ जना गरी कुल दुई हजार ३४१ जना सहभागी हुने पार्टीले जनाएको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ सम्पन्न हुने महाधिवेशनलाई भव्य र सभ्य बनाउन आवश्यक तयारी पूरा भएको पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । 

यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन पेस गर्ने तयारी गरिएको छ ।

विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने, २५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको छ । स्थायी कमिटीमा कम्तीमा एक महिला अनिवार्य हुने प्रावधानसमेत प्रस्ताव गरिएको छ ।

सङ्गठनात्मक प्रतिवेदनमार्फत पार्टी निर्माणका चुनौती, समाधानका उपाय र निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिने छ । राजनीतिक प्रतिवेदनमा भने राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति विश्लेषण गर्दै पार्टीको आगामी कार्यदिशा र समाजवाद स्थापनाको रोडम्याप प्रस्तुत गरिने पार्टीले जनाएको छ ।

महाधिवेशनलाई सफल बनाउन आठ वटा उपसमितिहरू गठन गरिएको छ । स्वागत, आवास, स्वास्थ्य, प्रचार, मञ्च सजावट, सांस्कृतिक कार्यक्रमदेखि लिएर यातायात र सुरक्षासम्मका तयारी पूरा भएको पार्टीले जनाएको छ ।

एमालेले यस ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन पत्रकारहरूको रचनात्मक सहयोग अपरिहार्य हुने भन्दै तथ्यगत सूचनाको सङ्कलन र सम्प्रेषणमा सहकार्य गर्न आग्रहसमेत गरेको छ ।

पत्रकार सम्मेलनमा एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई, नेता लालबाबु पण्डित र  केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरू सहभागी हुनुहुन्छ ।