• १९ भदौ २०८२, बिहिबार

पहिरोले ग्रामीण सडक अवरुद्ध

blog

गरायला–आठबिसकोट सडकखण्डको रिम्नानजिकै गएको पहिरो । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, भदौ १९ गते । लगातारको वर्षासँगै आएको पहिरोले रुकुमपश्चिमका करिब एक दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् । मध्यपहाडी राजमार्ग, राप्ती राजमार्ग र भेरी कोरिडोरको रुकुमपश्चिम खण्डमा हरेक दिनजसो आउने पहिरो हटाएर यातायात सुचारु हुने गरिए पनि ग्रामीण सडक भने बन्द अवस्थामा छन् । 

बाफिकोट गाउँपालिका–४ को छिनखेतबाट वडा नं. २ को पीपल हुँदै रुकुमपूर्व जोड्ने सडक पहिरो र खोलामा आएको बाढीका कारण अवरुद्ध रहेको छ । वडा नं. २ का वडाध्यक्ष प्रकाश खत्रीले वडा नं. १ र २ मा रहेको पुमाखोला र विभिन्न स्थानमा आउने पहिरोका कारण एक साताअघिबाट सडक अवरुद्ध रहेको बताउनुभयो । लगातारको वर्षाका कारण मुसीकोट नगरपालिकाको बैरागीठाँटीबाट त्रिवेणी गाउँपालिकाको पेदीखेत नुवाकोट हुँदै चौरजहारी जाने सडकसमेत अवरुद्ध रहेको छ । त्रिवेणी गाउँपालिका–९ का वडासदस्य सन्तोष ओलीले निर्माणाधीन उक्त सडकखण्डको विभिन्न स्थानमा आएको पहिरोका कारण सडक अवरुद्ध रहेको बताउनुभयो । निर्माण कम्पनीसमेतले तत्काल पहिरो हटाउन जोखिम रहेको बताएको उहाँको भनाइ छ । 

सानीभेरी गाउँपालिकाको सिम्लीबाट मेघा हुँदै आठबिसकोट जाने सडकमा रिम्नानजिकै ठुलो पहिरो आउँदा उक्त सडकखण्ड अवरुद्ध रहेको छ । पहिरोकै कारण सानीभेरीको काँडा–बागखोर, गरायला–दुली, रिम्ना–राम्री–चाख्मीमेला सडकखण्ड अवरुद्ध रहेको वडा नं. ४ का वडाध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो । आठबिसकोटबाट घारीखोला–मग्मा हुँदै सदरमुकाम खलङ्गा आउने सडकसमेत पहिरोका कारण अवरुद्ध रहेको छ । आठबिसकोटको केन्द्र राडीबाट जाजरकोटतर्फको सडकखण्ड हुँदै गोतामकोट जाने सडकसमेत अवरुद्ध छ । त्यसै गरी आठबिसकोटको घेत्मा, ज्यामिरकोट जाने सडकखण्ड वर्षा सुरुभएदेखि नै अवरुद्ध रहेका छन् । राजमार्ग क्षेत्रमा भने पहिरो जाँदा जेसिबी लगाएर पहिरो पन्छाउने भएकाले केही समयपछि सडक सुचारु हुने गरेको छ । राप्ती राजमार्गको खौला, पितिबाङ, बैरागीठाँटी र मध्यपहाडी राजमार्गको कालेखोला, चाइनाबगर, सहरेलगायतका क्षेत्रमा बढी मात्रामा पहिरो जाने गरेको छ । त्यसै गरी भेरी कोरिडोरको चिसापानी, बाँकेज्युलालगायतका क्षेत्रमा नियमितजसो पहिरोले सडक अवरुद्ध हुने गरेको छ । ग्रामीण सडकको अवरोध भने तत्काल हटाउन सकिएको छैन । 

मुसीकोट नगरपालिकाले भने आफ्नो क्षेत्रमा गएको पहिरो हटाउन मेसिन लगाउने गरेको जनाएको छ । ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई पालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम आउजाउ गर्न कठिनाइ भएको छ ।