खलङ्गा समाचारदाता
जाजरकोट, भदौ १९ गते । अविरल बर्सातका कारण छेडागाड नगरपालिका–४, टाटाजेवा ढाँडटोल र गोया टोलको माथिबाट खसेको पहिरोले तल्लो बस्तीमा रहेका ३२ घरपरिवार विस्थापित भएका हुन् । पहिरो खसेपछि सर्वसाधारण नजिकैको विद्याज्योति आधारभूत विद्यालय, सिद्धडाँडास्थित छिमेकीको घरगोठमा बसेका छन् । पहिरोले गाउँबस्तीमा उच्च जोखिम भएपछि विस्थापित भएका परिवार बिचल्लीमा परेका हुन् ।
दलितको बाहुल्य रहेको गाउँबस्तीमा पहिरो खसेपछि छिमेकीको घरमा शरण लिएका ३२ घरपरिवारमध्ये २४ घर दलितका छन् । छेडागाड नगरपालिका–४ का निमेश विकका अनुसार टाटाजेवा, ढारटोल र गोयाटोलमा आएको पहिरोले जोखिम भएपछि पुरानो बस्ती छाडेर छिमेकीको घरमा बस्नु परेको छ । पहिरोले खेतबारीमा लगाएको अन्नबाली, बाटो तथा घरमा समेत क्षति गरेपछि ज्यान जोगाउन थातथलो छाड्नु परेको उनीहरूले बताएका छन् । पुनर्निर्माण नहुँदा भूकम्पले चर्किएका घरमा बस्दै आएका भूकम्पपीडित पहिरोको त्रासले घर छाड्न बाध्य भएका हुन् । पीडित परिवारलाई खानेपानी तथा बिहानबेलुकाको छाक टार्न समस्या भएको छ । घरबारविहीन भई बालबालिका, बिरामी, गर्भवती, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्तिले सास्ती पाएका छन् । पहिरोले जोखिम भएपछि बिचल्लीमा परेका परिवारले स्थानीय सरकारले तत्काल राहत दिनुपर्ने माग गरेका छन् ।
छेडागाड नगरपालिका–४ का वडाध्यक्ष गणेशबहादुर थापाले गाउँबस्तीमा पहिरो गएपछि प्रभावितलाई तत्काल सुरक्षित ठाउँमा सारिएको बताउनुभयो । राहत र पुनस्र्थापनाका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको उहाँले जनाउनुभयो ।