• १९ भदौ २०८२, बिहिबार

पुरातात्त्विक सम्पदाको संरक्षण हुने

blog

दार्चुलाको उकुस्थित श्रीमहलको भग्नावशेष अध्ययन गर्दै पुरातत्वविज्ञ । तस्बिर सौजन्य : राजेश परियार

बैतडी समाचारदाता 

बैतडी, भदौ १९ गते । पुरातत्व विभागले यो वर्ष बैतडीको जगन्नाथ मन्दिर, कैलालीको गर्भा दरबारसहित सुदूरपश्चिम प्रदेशका सात वटा जिल्लामा रहेका १० वटा पुरातात्त्विक सम्पदाको संरक्षण, विस्तृत अध्ययन प्रतिवेदन तयार, अनुसन्धान र उत्खनन गर्ने भएको छ । यसका लागि चालु आर्थिक वर्षमा ५३ लाख रुपियाँ बजेट व्यवस्थापन भएको छ । सो कार्यक्रम अन्तर्गत गर्भादरबारको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न पाँच लाख, दार्चुलाको उकुस्थित श्रीमलको उत्खनन र अनुसन्धानका लागि चार लाख, बैतडीको जगन्नाथ मन्दिर संरक्षणका लागि चार लाख र मेलौली भगवती मन्दिरको संरक्षणका लागि पाँच लाख रुपियाँ विनियोजन गरिएको हो । 

त्यसै गरी डडेलधुराको अजयमेरुकोटको अनुसन्धान र उत्खननका लागि १२ लाख रुपियाँ रहेको छ भने कैलालीको गौरीगङ्गा नगरपालिकास्थित समिकोट भगवती मन्दिरका लागि चार लाख र टीकापुर नगरपालिकास्थित पदम प्रकाशेश्वर मन्दिर संरक्षणका लागि पाँच लाख रुपियाँको कार्यक्रम रहेको पुरातत्व विभागका सङ्ग्रहालय अधिकृत एवं सूचना अधिकारी पुरुषोत्तम आचार्यले बताउनुभयो । 

उहाँले अछामको साँफेबगरस्थित चण्डिकादेवी (कालिका मन्दिर) र बाजुराको खापरस्थित शम्भुनाथ मन्दिर संरक्षणका लागि पनि पाँच/पाँच लाख रुपियाँको कार्यक्रम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष विशेष गरेर गर्भादरबार संरक्षणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउँदैछौँ । अजयमेरुकोट दरबारको विस्तृत रूपमा खोज अनुसन्धान गर्दैछौँ । दार्चुलाको उकुको श्रीमहलको भग्नावशेष उत्खनन गरेर अनुसन्धान गर्ने कार्यक्रम हरेको छ । अन्य जिल्लामा रहेका पुरातात्त्विक महत्वका मन्दिरको संरक्षणका लागि योजना बनाउँछौँ ।” यो वर्ष कार्यक्रममा परेका गर्भादरबार, उकुको श्रीमहल र अजयमेरुकोट प्रदेशकै पुरातात्त्विक महत्वका संरचना हुन् । गर्भादरबार तत्कालीन राणा शासकले पोत (कर) उठाउने र मुद्दामामिला मिलाउने उद्देश्यले विसं. १९७९ मा शिलान्यास गरेर १९८४ मा निर्माण सम्पन्न भएको थियो । यो दरबार बनाउन पाँच वर्ष लागेको थियो । दरबारमा ८३ वटा झ्याल र ५३ वटा ढोका रहेका छन् । यो दरबार प्रयोगविहीन हुँदा अहिले जीर्ण अवस्थामा रहेको छ । 

जीर्ण भइसकेको दरबार भत्काएर पुनर्निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष २० करोड रुपियाँको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरे पनि पुरातत्व विभागले अनुमति नदिँदा काम हुन सकेको थिएन । यो वर्ष पुरातत्व विभाग आफैँले काम गर्ने भएपछि खुसी लागेको सुदूरपश्चिम प्रदेशका साहित्यकार हेमबाबु लेखकले बताउनुभयो । 

त्यसै गरी दार्चुलाको मालिकार्जुन गाउँपालिका–६, उकु उपत्यकाको करिब एक बिघा क्षेत्रफलमा रहेको श्रीमहलको भग्नावशेषको उत्खनन र अनुसन्धान हुने भएको छ । स्थानीयवासीले श्रीमहललाई पाल वा वम राजाको महल भनेर पनि चिन्ने गरेका छन् । उकुको श्रीमहल भत्केर यसको जग र ढुङ्गा छरपस्ट रहेका छन् । श्रीमहल (उकु महल) मा शिखर वास्तुशैलीको जग र ढुङ्गा भेटिएकाले यो राजा बस्ने महलभन्दा पनि मन्दिर भएको वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले बताउनुभयो । उहाँले श्रीमहल उत्खननका बारेमा विज्ञ टोली गत वर्ष त्यहाँ पुगेर उत्खनन र अनुसन्धानको काम सुरु भएको बताउनुभयो । श्रीमहलको पहिलो पटक अध्ययन गर्ने व्यक्ति योगी नरहरिनाथ रहेको स्थानीयको भनाइ छ ।