धनगढी समाचारदाता
धनगढी, भदौ १९ गते । सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक दशकयता फेला नपरेको धारीदार हुँडार पुनः देखा पर्न थालेका छन् । निकुञ्जले बाघ गणनालगायत विभिन्न प्रयोजनका लागि क्यामरा ट्र्याप गर्दा क्यामरामा सधैँ जसो हुँडार देखिन थालेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष अझ बढी हुँडार फेला परिरहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।
“अहिले हुँडारको साइटिङ राम्रो भइरहेको छ,” उहाँले भन्नुभयो, “निकुञ्जमा यिनीहरूको सङ्ख्या राम्रै रहेको हाम्रो अनुमान छ ।” सूचना अधिकारी वाग्लेले निकुञ्जमा हुँडारको अध्ययन/अनुसन्धान हुनुपर्ने बताउनुभयो ।
निकुञ्जमा हुँडारको बारेमा अहिलेसम्म अध्ययन, अनुसन्धान भएको छैन । जसका कारण के कति सङ्ख्या रहेका छन् भन्ने यकिन छैन । शुक्लाफाँटामा सन् २००० देखि क्यामरा ट्र्याप गर्न थालिएकोमा अन्तिम पटक २०१३ मा क्यामरा ट्र्यापमा हुँडार परेको थियो । त्यसपछि झन्डै एक दशकसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यो वन्यजन्तुको अत्तोपत्तो हुनसकेको थिएन । अहिले आएर नियमित रूपमा क्यामरामा हुँडार कैद हुन थाल्नु सुखद पक्ष रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) शुक्लाफाँटाका वरिष्ठ संरक्षण अधिकृत लक्ष्मीराज जोशीले बताउनुभयो । “हाम्रा लागि यो राम्रो कुरा हो,” उहाँले थप्नुभयो, “२०१३ पछि लामो समयसम्म हुँडार यहाँ फेला परेको थिएन ।” जोशीका अनुसार निकुञ्जको चुरेफेदी र भावर क्षेत्रमा क्यामरा ट्र्यापमा नियमित हुँडार परिरहेका छन् । हुँडारलाई नेपालमा स्थानीयले हड्डी बाघ भनेर पनि चिन्ने गरेका छन् । कालो, खैरो धर्का हुने धारीदार हुँडारको टाउको ठुलो र जबडा निकै बलियो हुने गरेको बताइन्छ । खास गरेर मरेको जनावरको मासु खाने (स्काभेन्जर) का रूपमा चिनिएको धारीदार हुँडारले कहिलेकाहीँ साना जनावरको सिकार पनि गर्ने गरेको जोशीले बताउनुभयो । रातमा सव्रिmय हुने धारीदार हुँडार एक्लै घुम्ने, कहिलेकाहीँ सानो समूहमा पनि बस्ने गरेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले रातो सूचीमा राखेको धारीदार हुँडार विलुप्त हुने खतराको नजिक छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले हुँडारलाई नेपालमा संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । बासस्थान विनाश, विष हालेर मार्ने, छाला र अङ्गका लागि सिकार गर्ने, सडक दुर्घटनामा मर्नेलगायतका कारणले हुँडारको सङ्ख्या घटिरहेको छ ।
तराईसहित चुरे क्षेत्रमा बस्ने धारीदार हुँडार शुक्लाफाँटा, चितवन, बाँके, बर्दिया राष्ट्रिय निकुञ्जसहित कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने गरेको अभिलेख छ । यसै गरी संरक्षित क्षेत्रभन्दा बाहिर कैलाली, दाङ, रुपन्देही, पर्सालगायतका जिल्लामा पनि हुँडार पाएको अभिलेख छ ।