• १९ भदौ २०८२, बिहिबार

रामग्राम नगरपालिकाले भत्कायो १५ वटा घर, टहरा

blog

सदरमुकाम परासीस्थित वडा नम्बर २ को हाटबजार क्षेत्रमा भएको अतिक्रमण हटाउँदै । तस्बिर: पुरुषोत्तम सुबेदी

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, भदौ १९ गते ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सदरमुकाम परासीस्थित वडा नम्बर २ को हाटबजार क्षेत्रमा भएको अतिक्रमण हटाएको छ । नगरपालिकाले डोजर प्रयोग गरी १५ वटा घर, टहरा र पर्खाल भत्काएको हो ।
पटकपटक सूचना जारी गरेर संरचना हटाउन निर्देशन दिए पनि अटेरी गरेपछि घर, टहरा तथा पर्खाल भत्काइएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभयो  । अतिक्रमण गरेर बसेका २ वटा पक्की र १३ वटा कच्ची घर भत्काइएको हो ।

वडा अध्यक्ष निरज रौनियारका अनुसार, पटकपटकको सूचनालाई बेवास्ता गरेपछि नगरपालिकाले यो कदम चालेको हो । नगरपालिकाले १५ दिनअघि नै अतिक्रमित संरचना हटाउनका लागि सूचना जारी गरेको थियो । यसअघि पनि सात दिनको सूचना जारी गरिए पनि कुनै पहल नभएपछि कारबाही गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले हाटबजार क्षेत्रमा बढ्दो चापलाई कम गर्न, सवारी पार्किङको व्यवस्था गर्न र त्यस क्षेत्रको सौन्दर्यीकरणका लागि अतिक्रमण हटाइएको जनाएको छ । नगरपालिकाले भत्काइएका संरचनामध्ये केहीको आफ्नै जग्गा नभएकाले उनीहरूका लागि तत्काल वैकल्पिक व्यवस्था गर्ने बताएको छ ।