• १९ भदौ २०८२, बिहिबार

एकतिस वर्षदेखि न्यायको पर्खाइ

blog

सहिद गणेश शाहकी पत्नी तुलाकुमारी शाहलाई सम्मान गरिँदै । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, भदौ १९ गते । जनयुद्धको क्रममा साबिक रुकुममै प्रथम सहिद हुनुभएका रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११, खोलागाँउका सहिद गणेश शाहको हत्या भएको ३१ वर्ष बितेको छ । हालसम्म पनि राज्यबाट राहतसमेत नपाएको मृतकका परिवारले ३१ वर्षसम्म न्याय नपाएको बताएका छन् । 

मङ्गलबार शाहको ३१ औँ स्मृति दिवसका अवसरमा खोलागाउँमा भएको कार्यक्रममा स्व. शाहकी श्रीमती तुलाकुमारी शाहले न्यायको पर्खाइमै ३१ वर्ष बितेको बताउनुभयो । श्रीमान् मारिएपछि परिवारको बिचल्ली परेको बताउँदै उहाँले श्रीमान्को हत्या गर्ने जनयुद्धका नाममा फरार भएका, हालसम्म कारबाही नभएको र राज्यबाट हालसम्म राहतसमेत नपाएको गुनासो गर्नुभयो । तत्कालीन खोलागाउँ गाविस अध्यक्ष तथा जिल्ला विकास समितिका सदस्य शाहको कामका सिलसिलामा जिल्ला सदरमुकाम जाँदै गर्दा विसं २०५१ भदौ १७ गते सानीभेरी गाउँपालिका–९, सिम्लीको सुलिहालेमा तत्कालीन माओवादीबाट हत्या भएको थियो ।

स्मृति दिवसमा नेपाली कांग्रेस रुकुमपश्चिमका सभापति प्रेमप्रकाश ओलीले माओवादीले जनयुद्ध सुरु हुनुअघि चलाएको सिस्ने जलजला (सिज) अभियानका क्रममा गणेश शाहको हत्या गरेको तर हालसम्म पनि न्याय नपाएको बताउनुभयो । फरक राजनीतिक आस्थाकै कारण शाहको हत्या भएको र राजनीतिक विभेदकै कारण शाहको परिवारले राहतसमेत नपाएको उहाँको भनाइ छ । सरकार र विद्रोही माओवादीबिच विस्तृत शान्ति सम्झौता हुँदा २०५२ फागुन १ गतेयताका घटनालाई मात्रै द्वन्द्वकालीन घटना मान्ने भनेर उल्लेख गरिएपछि मृतक शाहको परिवार राहत पाउनबाट वञ्चित भएको उहाँले बताउनुभयो । सभापति ओलीले राज्यले राजपत्रमै सहिदको सूचीमा गणेश शाहको नाम समावेश गरेको तर सहिदका परिवारलाई दिइनुपर्ने राहत रकम नदिएको उल्लेख गर्नुभयो । ३१ वर्षसम्म सहिद परिवार अन्यायमा बाँचिरहेको ओलीले बताउनुभयो । 

नेपाली कांग्रेसका जिल्ला सदस्य तथा सङ्गठन विभाग प्रमुख यदुकुमार आचार्यले मान्छे मारेर विचार नमर्ने बताउनुभयो । गणेश शाहको विचार र बाटो असल र अमर रहेको उल्लेख गर्दै उहाँले हत्याको राजनीति आपराधिक मानसिकताको उपज भएको बताउनुभयो । चौरजहारी नगर समितिका सभापति प्रेमबहादुर ओलीले हत्या र हिंसाको बाटोले कसैको पनि भलो नहुने र विचार मार्न नसकिने बताउनुभयो । वैचारिक आस्थाकै आधारमा हत्या गरिएका गणेश शाहको परिवार तीन दशकसम्म न्यायको खोजीमा भौतारिनुपर्ने अवस्था आउनु भनेको कानुनी राज्यमाथिको उपहास भएको उहाँको भनाइ थियो ।

३१ औँ स्मृति दिवसका अवसरमा सहिद पत्नी शाहलाई सम्मान गरिनुका साथै सहिद स्मृति नगर अस्पतालमा भर्ना भएका १८ जना बिरामी र उहाँका कुरुवा, स्वास्थ्यकर्मीलाई फलफूल वितरण गरिएको थियो ।