सन् २०२३ अक्टोबर ७ । गाजापट्टीबाट प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासले इजरायलमाथि सयौँ रकेट र ड्रोन आक्रमण गरेर युद्धको धावा बोलेको थियो । लगत्तै इजरायलले पनि हमासविरुद्ध आक्रमण सुरु गर्यो । गाजापट्टीबाट त्यो दिन निस्किएको युद्धको तुँवालोले अहिलेसम्म पनि पूरै विश्व छेकिरहेको छ । यो खास एउटा देशको विद्रोही समूह अर्को सिङ्गो देशसँग लडिरहेको एउटा लामो युद्ध हो । यसको अन्त्यका कुनै सङ्केत नै अहिलेसम्म देखा परेका छैनन् । न त्यसको गन्तव्य दुवै पक्षलाई थाहा छ । एकअर्कालाई झुकाउन सुरु भएको यो युद्धले अहिलेसम्म ६० हजारभन्दा बढी मानिसको ज्यान निलिसकेको छ । लाखौँ मानिस यसबाट प्रत्यक्ष प्रभावित छन् । त्यो उतैको कुरा भयो तर यो युद्धबाट लगभग पाँच हजार किलोमिटर टाढा रहेको नेपाल पनि नराम्ररी पिरोलियो ।
त्यो दिन होनहार १० नेपाली युवाले एउटा बङ्करमा ज्यान गुमाए । पढ्दै अनि कमाउँदै कार्यक्रमका लागि इजरायलमा पुगेका कृषि क्षेत्रका नेपाली विद्यार्थीमध्ये एक थिए विपिन जोशी पनि । कञ्चनपुरबाट इजरायल पुगेका विपिन युद्ध सुरु भएलगत्तै साथीहरूसँगै बङ्करमै थिए । हमासका लडाकुले त्यो बङ्करलाई नै ‘होस्टाइल’ गरे । हमासले बङ्करा हानेको बम छोपेर विपिनले उतैतिर मिल्काइदिए । आफ्ना साथीहरूलाई त जोगाए तर त्यहाँ रहेका केही मानिसलाई हमासले आफ्नो नियन्त्रणमा लियो । त्यो केहीको हुलमा एक थिए विपिन पनि ।
पर्खाइको पीडा कस्तो हुन्छ, २३ महिनादेखि विपिन आउने बाटो कुरिरहेका उनको परिवारलाई भन्दा अरूलाई कसलाई पनि त्यसको दर्द थाहा होला र ! तथापि विपिनको पर्खाइमा आज उनको परिवार अनि सिङ्गो नेपाल मात्रै होइन बरु पूरै विश्व आत्तिइरहेको छ । विपिनको रिहाइ अब उनको परिवार र देश मात्रै होइन सिङ्गो विश्वको सरोकार भइसकेको छ ।
यतिबेला विपिनका आमा र बहिनी इजरायल पुग्नुभएको छ । विपिनसहित हमासको नियन्त्रणमा रहेका भनिएका सयौँ मानिसलाई रिहाइको माग गर्दै इजरायलमा हुने दिनहुँ जसो प्रदर्शनमा उहाँहरू पनि सहभागी हुनुभएको छ । इजरायली कूटनीतिक र सरकारका प्रतिनिधिले उहाँहरूलाई विपिन बसेको बङ्कर पनि देखाउनुभयो । यतिबेला विपिनकी बहिनीले इजरायली भूमिमा खसाइरहेको आँसु विश्वभरिकै सञ्चार माध्यममा ‘हेडलाइन’ बनेका छन् । इजरायलका राष्ट्रपति, प्रधानमन्त्रीसमेतले उहाँहरूसँग भेटेर विपिनको रिहाइका लागि पहल गर्ने वचन दिनुभएको छ । इजरायलले उहाँहरूलाई संयुक्त राष्ट्रसङ्घसम्मै पुर्याउने कोसिस पनि गरिरहेको छ । यसबाट हमासमाथि विपिनसहितका बन्दीहरूलाई रिहा गर्न अन्तर्राष्ट्रिय दबाब हुने विश्वास पनि गरिएको छ ।
१० जना युवाको शवसँगै त्यो बेला नेपालले सयौँ नेपाली विद्यार्थीलाई इजरायलबाट उद्धार गरेर ल्याएको थियो । अझै पनि छ हजारभन्दा धेरै नेपाली रोजगारीकै लागि इजरायलमै छन् । इजरायल आफैँ पनि विद्रोही पक्षसँग लडिरहेको छ । हमास मात्रै होइन इजरायल यतिबेला धेरै देश र विद्रोही समूहसँगको युद्धमा छ । सयौँ वर्षदेखिका विवादका टुक्राहरूले इजरायलले धेरै युद्ध बेहोरिसकेको इतिहास छ । अहिले पनि ऊ लडाइँकै मैदानमा छ । यस्तो अवस्थामा पनि उसले नेपाली युवाको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय र कूटनीतिक दबाबमा सघाइरहेको छ । यो एउटा मित्रराष्ट्रका लागि महत्वपूर्ण काम र सम्मान पनि हो । किनकि नेपाल–इजरायलबिच लगभग ६५ वर्ष पुरानो सम्बन्ध र मित्रताको इतिहास छ ।
भूमध्य सागरको दक्षिणपूर्वी तटमा रहेको इजरायल सन् १९४७ मा स्थापना भएको हो । खास गरी प्यालेस्टाइनबाट ब्रिटिस साम्राज्यको अन्त्य भएपछि नै एक स्वतन्त्र राष्ट्रका रूपमा इजरायल स्थापित भएको हो । स्थापनाकालदेखि नै उसले अनेक आरोहअवरोह झेल्दै आएको छ । इतिहासमा इजरायलले धेरै युद्ध भोगेको छ । त्यसैले प्यालेस्टाइनासँगको उसको लडाइँ पुरानो मात्रै नभएर निकै पुरानो पनि हो । यसको इतिहास खोतल्दै जाँदा पहिलो विश्व युद्धपछिको समयसम्मै पुग्नु पर्छ । पहिलो विश्वयुद्ध थामिएपछि मध्यपूर्व (खास गरी खाडी राष्ट्रहरूमा) ‘अटोमन’ साम्राज्य पनि ढल्यो । त्यसपछि यो क्षेत्रमा ब्रिटेन (बेलायत) ले कब्जा गर्यो । १४ औँ शताब्दीपछि र २० औँ शताब्दीको बिचमा युरोप साम्राज्यको विशाल रूप थियो ‘अटोमन’ । हालको टर्कीलाई केन्द्र बनाएर त्यो बेलाका शक्ति राष्ट्रहरूले बुल्गेरिया, रोमानिया, युगोस्लोभियालगायतका क्षेत्रहरूमा यो साम्राज्य फैलिएको थियो । जसको राजधानी हालको इस्तानबुल थियो । पहिलो विश्वयुद्धमा बेलायत र उसका सहयोगी राष्ट्रहरूले त्यो साम्राज्यलाई पराजित गरेपछि त्यहाँ पनि बेलायती शासनले नियन्त्रण लिएको थियो । त्यसपछि अटोमन साम्राज्यमा रहेका देशहरू ‘स्वतन्त्र’ त भए तर लामो समयसम्म ती ब्रिटेनका उपनिवेश जस्तै रहे ।
यहाँ अधिकांश यहुदी र अरबी समुदायका मानिसको बसोबास थियो । दोस्रो विश्व युद्धको अन्त्यसँगै सारा विश्व संयुक्त राष्ट्रसङ्घको छातामुनि गोलबद्ध भयो । अर्कोतर्फ यहुदी र अरबी समुदायबिच मतभेद बढ्दै गइरहेको थियो । बेलायत साम्राज्य यो विवादलाई सुल्झाउन नसक्ने अवस्थामा पुगेको थियो । बेलायती शासकले यहुदीका लागि प्यालेस्टाइनमा छुट्टै भूमि छुट्याउने प्रस्ताव राख्यो तर त्यसमा सहमति जुट्न सकेन । त्यसपछि इजरायल र प्यालेस्टाइनबिचको यो विवाद राष्ट्रसङ्घ छि¥यो ।
राष्ट्रसङ्घमा यो विषयमा मतदान नै भएको थियो । परिणामपछि यहुदी बाहुल्य क्षेत्र इजरायलको स्वामित्वमा रहने भयो र अरबीको सङ्ख्या बढी भएको क्षेत्र प्यालेस्टाइनको भयो । बाँकी रह्यो जेरुसेलम (हाल इजरायलको राजधानी), जहाँ यहुदी र मुसलमान दुवैको वर्चस्व सरोबरी थियो । राष्ट्रसङ्घले त्यो क्षेत्रमा अन्तर्राष्ट्रिय नियन्त्रण रहने घोषणा गर्यो । लगत्तै सन् १९४८–४९ ताका इजिप्ट, सिरिया, इराक तथा जोर्डनले इजरायलमाथि आक्रमण गरे । इजरायलले त्यो आक्रमणलाई विफल पारिदियो । प्यालेस्टाइनको भूभाग तहसनस भयो ।
पश्चिमी भाग जोर्डनको नियन्त्रणमा पुग्यो । गाजापट्टि इजिप्टको कब्जामा पुग्यो । झन्डै आधा इजरायलको नियन्त्रणमा रह्यो । लगभग सात लाख बढी अरबी प्यालेस्टाइनीहरू शरणार्थी भए । पहिलो विश्वयुद्धको अन्त्यसँगै ‘अटोमन’ साम्राज्य ओरालो लाग्दै थियो । प्यालेस्टाइनमा बेलायतको शासन भयो । बालफोरु घोषणाबाट ठुलो सङ्ख्यामा यहुदीहरू प्यालेस्टाइनमा बसाइँ सरेका थिए । उता बेलायतले फ्रान्स र रुससँग ‘साइक्स–पिकोट’ भनिएको एउटा गोप्य सम्झौता गर्यो ।
सम्झौताले सम्पूर्ण मध्यपूर्वलाई विभिन्न भागमा विभाजन गरी पहिलो विश्वयुद्ध समाप्त भएपछि कुन देश कुन कुन भागमा जाने भन्ने निर्णय गरे । यो अवधिमा यहुदीहरूको सङ्ख्या तीव्र गतिमा बढ्दै थियो । प्यालेस्टाइनमा बसाइँ सरेका यहुदीहरू त्यहाँ जग्गा जमिनसमेत खरिद गर्न सुरु गरिसकेका थिए । त्यहीबेला अरबी राष्ट्रहरूबिच
द्वन्द्व सुरु भयो । सन् १९३६ ताका प्यालेस्टाइनी र अरबी सङ्घर्ष चर्कियो । बेलायतले त्यो विवाद साम्य पार्न यहुदी सेनाको मद्दत लियो । प्यालेसटाइनीहरूलाई शान्त गर्न ब्रिटेनले यहुदीहरूको बसाइँसराइमा नियन्त्रण गर्न थाल्यो । दोस्रो विश्वयुद्धको सुरुवाती विन्दु त्यही नै थियो । हिटलरको शासनमा युरोपभरि नै यहुदीहरूको नरसंहार भयो । करिब ४२ लाख यहुदीहरूलाई ग्यास च्याम्बरमा राखेर मारिएको इतिहास छ । युरोपमा बसोबास गर्ने यहुदीहरूले प्यालेस्टाइनबाहेक अर्को कुनै ठाउँमा यहुदीहरू सुरक्षित रूपमा बस्न नसक्ने निष्कर्ष निकाले ।
सन् १९९३ मा ‘ओसलो एकोर्ड’ भनिने पाँच वर्षीय सम्झौता भयो । त्यसमा इजरायलले प्यालेस्टाइनलाई स्वतन्त्र देश स्वीकार्नुपर्ने सर्त थियो । यही सम्झौताको जगमा ‘यिट्ज स्टाक रोबेन’ र ‘यासिर अराफात’ लाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । सन् २००० देखि फेरि युद्ध सुरु भयो । सन् २००५ सम्म अवस्था झनै खराब हुँदै गयो । इजरायलले आफ्नो नीतिमा कडाइ गर्न थाल्यो । गाजा क्षेत्रबाट आफ्ना करिब आठ हजार सेना फिर्ता बोलायो । सन् २००७ ताका प्यालेस्टाइनको विद्रोही समूह हमास समूहले गाजा क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्यो । उता पिएलओ–फतेहबिचको राजनीतिक विचारधारा ठिकविपरीत भयो । हमासले उग्रराष्ट्रवाद चर्कायो । परिणाम आज पनि गाजापट्टि क्षेत्रका लागि त्यो युद्ध जारी छ ।
सन् १९५० को दशकतिर इजरायल एउटा यस्तो राष्ट्र थियो जसलाई विश्वका कुनै पनि राष्ट्रहरूले उसलाई एउटा ‘स्वतन्त्र’ राष्ट्रको रूपमा स्वीकार गर्न निकै हिच्किचाहट मान्थे । अन्तर्राष्ट्रिय सम्बन्ध र स्वतन्त्र राष्ट्रको स्वीकार्यताका लागि हात फैलाइरहेको लगभग १० वर्षपछि नेपालले इजरायसँग मित्रताको हात अघि बढायो । तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले इजरायलमै पुगेर ‘दौत्य सम्बन्ध’ को यात्रा सुरु गर्नुभएको थियो । नेपालकै प्रथम जननिर्वाचित प्रधानमन्त्रीका हैसियतमा विश्वभरि नै उहाँको राजनीतिक कद उँचो त थियो नै करिब पाँच हजार किलोमिटर टाढाको देशसँग उहाँले गाँस्नुभएको त्यो साइनोले नेपालको चर्चा अझ विश्वभरि नै हुन थाल्यो । यसरी उत्तर–दक्षिण रहेका दुई शक्तिशाली देश र दक्षिण एसियाका अरू राष्ट्रभन्दा पनि अघि बढेर इजरायलसँग सम्बन्ध गाँस्ने नेपाल पहिलो दक्षिण एसियाली राष्ट्रका रूपमा रह्यो । यो प्रशान्त क्षेत्रमा इजरायलले पहिलो पटक नेपालमै आफ्नो कूटनीतिक नियोगको स्थापना गरेको थियो । सन् १९६० मा आफैँले कायम गरेको दौत्य सम्बन्धका बारेमा बिपीले एउटा ‘आँटिलो काम’ भनेर आफ्ना आत्मवृत्तान्तमा पनि लेख्नुभएको छ । यद्यपि त्योभन्दा अघि अर्थात् सन् १९५६ मै कोइरालाले ‘हिटलर र यहुदी’ उपन्यास लेखिसक्नुभएको थियो । जसबाट पनि उहाँ इजरायलसँग परिचित नै हुनुहुन्थ्यो । औपचारिक सम्बन्धपछि सन् १९६० मै उहाँले संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गर्नुभयो र इजरायलको राजनीतिक वास्तविकता बुझेर उसलाई मान्यता दिए अरब राष्ट्रसँगको द्वन्द्व समाधान हुने धारणा पनि राख्नुभएको थियो । जतिबेला इजरायललाई मान्यता दिने वा नदिने भन्नेबारेमा विश्व नै विभाजित थियो । यसरी आजपर्यन्त बिपी र नेपाललाई इजरायलले उत्तिकै सम्मान भाव राख्दै आएको छ । आज त्यही भूमिबाट बेपत्ता पारिएकाविपिन र उनको परिवार अनि सिङ्गो नेपालप्रति इजरायलको समभाव पनि त्यसैको अन्तर्य हो ।
विपिनका लागि नेपाल सरकारले पनि कूटनीतिक पहल नगरेको होइन । जति गर्यो र जे भयो त्यत्तिले पुगेकै छैन । अझै प्रभावकारी कूटनीतिको जरुरी छ । जसरी विपिन रिहाइका लागि हमासलाई दबाब पुग्नुपर्ने हो, त्यो पुगेकै छैन । अर्थात् हामीले ‘कूटनीतिक पहल वा प्रयास’ का नाममा समयको खर्च गरिरहेका छौँ कि भन्ने पनि भान भएको छ । आजको समयमा विश्वका त्यस्ता बिरलै देशहरू होलान् जहाँ नेपालीले पाइला नटेकेको होस् । त्यसैले विपिनको यो घटनाबाट नेपाल र नेपालका राजनीतिज्ञले पनि पाठ पक्कै सिक्नु पर्छ । यस्तो सङ्कटका बेला आफ्ना नागरिक कसरी सुरक्षित बनाउने र कसरी खोज्ने भन्ने कुरा हामीलाई धेरै घटनाले पनि सिकाइसकेका छन् । तथापि अहिलेका लागि हामी विपिन ल्याउने बाटो खोजौँ । विपिनलाई पर्खिरहेको उनको परिवार, यो देश अनि सिङ्गो विश्वसँगै युद्धरत पक्षलाई अझ कूटनीतिक दबाब बलियो पारौँ । अनि कामना गरौँ, विपिन चाँडै घर फिर्ने छन् ।