• १४ वैशाख २०८१, शुक्रबार

बाहिरी चक्रपथ आयोजना

हाजिर गरेरै तलब गाडीबिना नै ड्राइभर

blog

काठमाडौँ, असार ८ गते । अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् । त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका एक दर्जनभन्दा बढी करार कर्मचारीलाई हाजिरीको भरमा तलब सुविधा खुवाइँदै आइएको छ । 

सो आयोजनामा कार्यरत १५ जना कर्मचारीमध्ये १२ करारका छन् । उनीहरूको काम कार्यालयमा आउने, हाजिरी गर्ने अनि तलब भत्ता लिने मात्र भएको कार्यालयकै कर्मचारी बताउँछन् । ‘कोमा’ मा पुगिसकेको सो आयोजनामा दरबन्दी सिर्जना गरेर नै कर्मचारी भर्ती गर्दै आएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले बाहिरी चक्रपथ आयोजनामा वर्षौंदेखि दर्जनभन्दा बढी करार कर्मचारीले हाजिरीको भरमा तलब सुविधा बुझ्दै आएको उहाँले स्वीकार गर्नुभयो ।आयोजना प्रमुख जगदीश लामिछानेले करार कर्मचारीले काठमाडौँ उपत्यका विकास प्राधिकरणमा हाजिरी गर्ने गरेको बताउनुभयो । छ÷छ महिनामा करार कर्मचारीको म्याद थप हुन्छ ।

अहिले चक्रपथ आयोजनामा स्थायी कर्मचारीका रूपमा जगदीश लामिछाने (आयोजना प्रमुख), रवीन्द्र घिमिरे (नासु) र सुदीप पौडेल (सर्वेक्षक) हुनुहुन्छ । त्यसैगरी करार सेवामा इन्जिनियर अञ्जु नेपाली (राप तृतीय), सबइन्जिनियर विवेक भट्टराई (राप अनं प्रथम), नासु सोभिता गोतामे, खरिदार सरस्वती पोखरेल, अमिन देवेन्द्रप्रसाद साहु कार्यरत हुनुहुन्छ ।

सवारीसाधन छैन, चालक तीन जना 

बाहिरी चक्रपथ आयोजनामा एउटा पनि सवारीसाधन नभए पनि तीन जना सवारीचालक करारमा नियुक्त गरिएको छ । डेन्डी शेर्पा, रामशरण थापा र विष्णुप्रसाद उप्रेतीलाई हलुका सवारी चालकका रूपमा नियुक्त गरिएको छ । उहाँहरू सवारीसाधन नै नचलाई तलब सुविधा लिनुहुन्छ ।प्राधिकरणको स्रोतका अनुसार त्योभन्दा पनि चालू आर्थिक वर्षमा सवारीसाधन मर्मत शीर्षकमा ४१ हजार र इन्धनमा एक लाख रुपियाँ खर्च भइसकेको पाइएको छ । 

त्यसैगरी आयोजनामा चार जनालाई करारमा कार्यालय सहयोगीका रूपमा नियुक्त गरिएको छ । वेदनाथ घिमिरे, कृष्णप्रसाद तिवारी, निरमाया राना र हुकुमबहादुर जीसी कार्यालय सहयोगीका रूपमा नियुक्त हुनुहुन्छ । कार्यालय सहयोगी घिमिरे २०६२ सालमा र तिवारी २०६३ सालमा नियुक्त भई अहिलेसम्म निरन्तर सेवासुविधा लिँदै आउनुभएको छ । कर्मचारीका अतिरिक्त सो आयोजनाले साइट कार्यालय सञ्चालन, फर्निचर, कम्प्युटर खरिद, बिजुली, पानी, फोन, नेट, मसलन्द खर्च आदि शीर्षकमा मासिक ठूलो परिमाणमा खर्च गर्दै आएको छ । आयोजनाको प्रारम्भदेखि नै चालू खर्च वार्षिक एक करोडभन्दा बढी खर्च हुँदै आएको छ भने पुँजीगत खर्च शून्य छ ।

अहिलेसम्म सो आयोजनामा चालू खर्चको नाममा बीस करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ । चालू आर्थिक वर्ष २०७८/७९ मा सो आयोजनाको चालूतर्फ ९९ लाख ८७ हजार र पुँजीगततर्फ ३५ लाख पचास हजार रुपियाँ विनियोजन गरिएकोमा अहिलेसम्म चालूतर्फको विनियोजित बजेट पूरा खर्च भइसकेको छ भने पुँजीगततर्फको आर्थिक प्रगति शून्य छ ।

खारेज हुन्छ : मन्त्री झाँक्री



बाहिरी चक्रपथ आयोजनामा करारमा राखिएका कर्मचारी र काल्पनिक शीर्षकमा गरिएको खर्चबारे सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई अहिलेसम्म केही जानकारी छैन । गोरखापत्रको जिज्ञासामा मन्त्री झाँक्रीले सो आयोजनामा भइरहेको गतिविधिबारे अनभिज्ञता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो मन्त्रालयको कुरा मलाई जानकारी छैन भनेर भन्न त मिलेन ।” उहाँले अगाडि भन्नुभयो, “आयोजना सञ्चालन भएन त्यो खारेज हुन्छ । दायित्व किन बोक्ने ?”

उहाँले भन्नुभयो, “आयोजनामा पर्ने अत्यधिक जग्गा कित्ताकाट भइसकेको र घर पनि बनेकाले बाहिरी चक्रपथ निर्माण नहुने सम्भावनाको नजिक छ । १८ वर्षअघि परिकल्पना गरिएको रेखाङ्कनमा चक्रपथ बनिहाल्ला भन्न सकिने अवस्था छैन । आयोजना सञ्चालन हुँदैन भन्ने कुरामा लगभग अब अनौपचारिक हिसाबले त निश्चित नै छ ।”