• ७ साउन २०८२, बुधबार

सुक्दै प्राकृतिक पोखरी

blog

बबई समाचारदाता 

बबई (बर्दिया), साउन ७ गते । बर्सात नहुँदा बर्दिया जिल्लामा रहेका पानी पोखरी सुक्दै जान थालेका छन् । यहाँ मात्र २०३ हेक्टर जमिनमा प्राकृतिक पोखरी रहेको छ भने ४३० हेक्टर जमिनमा कृत्रिम पोखरीहरू रहेका छन् । गत जेठ महिनाको सुरुवातमा केही बर्सात भएको भए पनि पछिल्लो समय भने बर्सात हुन सकेको छैन । यसले प्राकृतिक पोखरीहरूमा पानीको अभाव देखिएको छ । 

बर्दिया जिल्लाको विभिन्न स्थानमा रहेका प्राकृतिक पोखरी सुक्दै जान थालेका छन् भने माछापालन गर्ने कृषकसमेत यतिबेला समस्यामा परेका छन् । प्राकृतिक पोखरीमा मात्र नभएर जिल्लामा निर्माण गरिएका कृत्रिम पोखरीमा समेत पानीको अभाव देखिएको छ । गुलरिया नगरपालिका–४, कोटही टोलका कृषक शङ्कर घिमिरेले कृत्रिम पोखरीमा पानी सिँचाइ गर्न मोटर जडान गरिएको भए पनि जमिनमुनि पानीको सतह घट्दै जाँदा मोटर र बोरिङले समेत पानी सिँचाइ गर्न समस्या भएको बताउनुभयो । विशेष गरी सरकारी स्वामित्वमा रहेका प्राकृतिक पोखरीहरूमा पानीको समस्या देखिएको छ । गुलरिया नगरपालिका–४, सुहेलवाका स्थानीय बासिन्दा कमल ज्ञवालीले स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत स्थानीय सरकारको मातहतमा रहेका पोखरी भाडामा लिएर माछापालन गर्ने कृषकलाई अझ बढी समस्या देखिएको बताउनुभयो ।