• ७ साउन २०८२, बुधबार

खानेपानीको आपूर्ति गर्न संघ संस्था सक्रिय

blog

खानेपानीको अभाव भएको धनुषाको सबैलामा जारको पानी वितरण गरिँदै । तस्विर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, साउन ६ गते । मधेश प्रदेशको विभिन्न भूभागमा उत्पन्न खानेपानीको समस्या समाधानका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दातृनिकायसँगको बैठकमा सहयोग गर्न आह्वान गरेपछि खानेपानीको आपूर्ति गर्न विभिन्न संघ संस्थाहरु सक्रिय भएका छन् । 

मधेशमा विभिन्न क्षेत्रमा काम गर्ने एनजिओ र आइएनजिओले केही दिन खानेपानीको आपूर्ति गर्नमा सक्रियता देखाएका छन् ।  धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं.५ र वडा नं.११ मा  खानेपानीको अभाव देखिएपछि पीडित परिवारलाई सामाजिक विकास र अनुसन्धान केन्द्र धनुषाले प्लान इन्टरनेशनलको सहयोगमा जारको पानी वितरण गरिएको छ । 

सो ठाँउमा प्रति परिवारलाई एक दिनमा ६० लिटर जारको पानी वितरण गरिएको सामाजिक विकास र अनुसन्धान केन्द्र धनुषाका सचिव सोनफी साहले जानकारी दिनुभयो । उहाँले पाँच सय भन्दा बढी घर परिवारलाई प्रत्येक दिन २० लिटरको तिनवटा पानी भरिएको जार दिने गरिएको जानकारी दिनु भयो । 

सबैलाको उक्त दुवै वडामा हाते कलबाट पानी आउन छाडेपछि खानेपानीको समस्या हुँदा स्थानीय सरकारसँगको समन्वयमा तत्काल सात दिनसम्म खानेपानीको वितरण हुने कार्यक्रम रहेको प्लान इन्टरनेशनलका पूर्व क्षेत्रीय कार्यालय जनकपुरधामका क्षेत्रीय प्रबन्धक रवि शंकर पंडितले जानकारी दिनुभयो ।

उहाँले यस्तो संकटको समयमा हामी सबैले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । सामाजिक विकास र अनुसन्धान केन्द्र धनुषाले आइतबारदेखि नै खाने पानी वितरण गर्न थालेपछि सो दुवै वडाका बासिन्दाको जनजीवन सहज भएको कार्यक्रम संयोजक विवश श्रेष्ठले बताउनुभयो ।