• ७ साउन २०८२, बुधबार

रारा पर्यटन पदमार्ग अलपत्र

blog

मुगु समाचारदाता 

मुगु, साउन ७ गते । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा निर्माणाधीन रारा पर्यटन पदमार्गको निर्माण कार्य अलपत्र परेको छ । निर्माणको जिम्मा लिएको उक्त आयोजनाका निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको हो । डिभिजन वन कार्यालय मुगुका अनुसार रारा पर्यटकीय पदमार्ग निर्माणका लागि सङ्घीय सरकार र कर्णाली प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत ४५ करोड २९ लाख १० हजार ७९ रुपियाँमा खानीथोदुङ क्याराभानले विसं २०७९ असारमा निर्माणको जिम्मा पाएको थियो । वन कार्यालयका प्रमुख ललितकुमार कर्णले निर्माण कम्पनीले काम अगाडि बढाउन आठ करोड रुपियाँ पेस्कीसमेत लिएको तर काम भने अझै अगाडि नबढाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “१४ किलोमिटर लामो पदमार्गमा पूर्वाधार निर्माण भए पनि कमसल सिमेन्टको प्रयोग गरिएको पाइएको छ ।” आउजाउ गर्ने पदमार्गमा जथाभाबी ढुङ्गा बिछ्याएर अलपत्र छोडिँदा पर्यटकलाई आउजाउमा समस्या भएको स्थानीय नन्दबहादुर रोकायाले बताउनुभयो । राराको नाममा यस्ता विकास निर्माणसम्बन्धी योजना धेरै आएको सुनिने तर कार्यान्वयन नभएको उहाँको भनाइ छ । निर्माण कम्पनीको दोष मात्रभन्दा पनि सरकारी नियमनको समेत योजना अगाडि बढाउन चासो कम देखिएको आरोप उहाँले लगाउनुभयो । 

निर्माण कम्पनीले गैरस्थानीय सामग्री खरिद गर्न र निर्माण कार्य अगाडि बढाउन पेस्की लिएको तीन वर्षसम्ममा पनि सोचे अनुरूप काम नभएको डिभिजन कार्यालय प्रमुख कर्णले बताउनुभयो । पदमार्गको काम सञ्चालन गर्नलाई सम्बन्धित निर्माण कम्पनीलाई पत्राचार गरे पनि निर्माण कम्पनीले अहिलेसम्म सुनुवाइ गरेको छैन । कमसल सिमेन्ट प्रयोग गरिएका संरचना तत्काल भत्काउन कार्यालयबाट निर्माण कम्पनीलाई पत्राचार गरिएको उहाँको भनाइ छ । “निर्माण कम्पनीले राज्यको पैसा दोहन गर्ने, काम नगर्ने, ब्याज मात्र असुली गर्ने जस्तो देखिएकाले सम्बन्धित निकायमा रकम असुलीको पत्र बारम्बार कार्यालयको तर्फबाट पठाउने काम भएको छ, अब अरू प्रक्रियामा पनि जान्छौँ,” उहाँले भन्नुभयो । एकातिर समयमा काम नहुने, अर्कातिर काम सञ्चालन हुन नसक्दा स्थानीयको रोजगारी पनि खोसिएको नागरिक समाजका संयोजक रूपबहादुर मल्ल बताउनुहुन्छ । यस्ता निर्माण कम्पनीलाई सम्बन्धित निकायले निकासा भएबमोजिम रकमको ब्याजसमेत असुल नगरेमा सम्बन्धित निकाय र निर्माण कम्पनीलाई उजुरी गर्नुपर्ने उहाँले बताउनुभयो ।

साइकल लेनको बिजोग

शङ्कर मालिका कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको रारा पर्यटकीय पूर्वाधार साइकल लेनको निर्माण कार्य विसं २०७७ देखि अलपत्र छ । डिभिजन वन कार्यालयसँग सम्झौता भएको निर्माण कम्पनीले काम सञ्चालन गर्नलाई पहिलो किस्ताबापत एक करोड रुपियाँ पेस्की लिएको देखिन्छ । छायानाथ रारा नगरपालिका–९ का स्थानीय दन्तलाल रोकायाले रारा साइकल लेन निर्माण कार्यका लागि ल्याइएका गैरस्थानीय सामग्री इँटा, कङ्क्रिट यत्रतत्र फालिएका छन् । निर्माण कम्पनीको लापराहीका कारण काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । यता डिभिजन वन कार्यालय मुगुका प्रमुख ललितकुमार कर्णले बहुवर्षीय योजना अनुसार २०८२ सालसम्म सक्नुपर्ने भए पनि आजसम्म कम्पनीको लापर्बाहीले काम अगाडि नबढेको र निर्माण कम्पनीको अहिलेसम्म सम्पर्कमा नआएको बताउनुभयो ।