• ८ साउन २०८२, बिहिबार

पुष्पलाल स्मृति दिवस

पुष्पलालको जीवनशैली अहिलेका कम्युनिस्टको भन्दा धेरै फरक थियो : उमेशलाल श्रेष्ठ

blog

काठमाडौँ, साउन ७ गते । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकाे जन्म १९८१ असार १५ गते भयो । १९९७ सालमा दाजु सहिद गङ्गालाल श्रेष्ठलाई तत्कालीन राणाशाहीले गोली हानी हत्या गरेपछि प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा उहाँ उत्प्रेरित हुनुभयो । सो समय नेपालमा खुला राजनीतिका लागि बन्देज थियो । त्यसैले, २००६ सालमा पुष्पलाल श्रेष्ठ र अरु चार जना निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठसहितको पाँच सदस्यीय नेकपाको संस्थापन समिति भारतमा गठन भयो । नेपाली कम्युनिस्ट आन्दोलन एवम् प्रजातान्त्रिक आन्दोलनका धरोहर पुष्पलालको निधन २०३५ साल साउन ७ गते भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो । 

पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा पुष्पलालका सुपुत्र उद्योगी उमेशलाल श्रेष्ठसँग गरिएको संक्षिप्त संवाद यहाँ प्रस्तुत गरिएको छ । 

बाल्यकालमा बुवासँगको सम्बन्ध कस्तो रह्यो ?

बाल्यकालमा उहाँसँगै रहनै पाइनँ । म सानै (चार, पाँच वर्ष) हुँदा उहाँ निर्वासित जीवन बिताइराख्नुभएको थियो । त्यसैले, उहाँसँग बस्नै पाइएन । 

बुवा पुष्पलाललाई परिवारको दृष्टिले कस्तो व्यक्तित्वको रूपमा सम्झनुहुन्छ ?

उहाँ अत्यन्तै नरम, अत्यन्त सफा हृदयको हुनुहुन्थ्यो । मलाई त्यति थाहा छ । 

पारिवारिक जीवन र राजनीतिक जीवनबिच उहाँ कसरी सन्तुलन मिलाउनुहुन्थ्यो ?

त्यो मलाई थाहै छैन भने नि ! म चार, पाँच वर्षको उमेर हुँदाखेरी उहाँ विदेश जानुभयो निर्वासनमा । अब हामी कहिलेकाहीँ वर्षको एकचोटी जान्थ्यौं । मेरो भेट हुने त्यति मात्रै थियो । सँगै बसेर पारिवारिक जीवन कहिल्यै बिताउनै पाइनँ ।

बुवाको कुनै यस्ता सम्झना योग्य क्षण छन् जुन अझै मनमा गढिएको छ ?

अत्यन्त दयालु हुनुहुन्थ्यो । आजभन्दा ५०, ५५ वर्ष अगाडिको कुुरा हो, एकपटक जाडो महिनामा उहाँको एक जना साथी आउनुभएको थियो । उहाँले आफ्नो साथीलाई त्यो एउटा मात्र कोट निकालेर तपाईं लगाउनुस् ! भनेर दिनुभएको थियो । त्यो म जहिल्यै पनि सम्झन्छु ।

उहाँको भूमिगत राजनीतिक जीवनका कारण परिवारले के–कस्ता चुनौतीहरू भोग्नुपर्‍याे ?

एउटा मान्छे भूमिगत छ पञ्चायतकालमा । कस्तो–कस्तो कष्ट हामीले खायौं होला विचार गर्नूस् न । मैले बयान गरिराख्नु नपर्ला ।

बुवाले लामो समय देशबाहिर बस्दा तपाईंहरूको जीवनमा कस्तो असर पर्‍याे ?

अब असर भनेको के र । आमाले बुवा र आमा दुवैको माया, ममता दिनुभएको थियो । अहिले हेर्दाखेरी हामी त्यो बेला सायद, मध्यमवर्गीय अथवा, निम्न मध्यमवर्गीय परिवार थियौं  । जिन्दगी जेनतेन चलिहाल्थ्यो । अब बुवाको कमी मसँग हुनु त स्वाभाविक नै हो नि त । त्यसका लागि हामी प्रायजसो वर्षको एकचोटी भारत जान्थ्यौं । पछि अलि बुझ्ने बेला भइसकेपछि अब यस्तै रहेछ भन्ने बुझियो ।

उहाँको जीवनशैलीबाट तपाईंले कस्तो शिक्षा लिनुभयो ?

उहाँको जीवनशैली अहिलेका कम्युनिस्टहरूको जीवनशैलीभन्दा धेरै फरक थियो । साँच्चै नै साधारण । आफूले खान लागेको खाना पनि अरुलाई दिन तयार हुने मान्छे । एकदमै साधारण हुनुहुन्थ्यो । 

तपाईंका नजरमा उहाँको प्रमुख योगदान के–के हुन् ? 

मुख्यतः हेर्नुस्, २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भयो । २००७ सालमा प्रजातन्त्रको आन्दोलन भयो । त्यसपछि मेरो बुवाको कुरा गर्ने हो भने जहिल्यै पनि प्रजातन्त्र पुनर्स्थापनामा जोड दिइराख्नुभयो । २०१७ सालमा महेन्द्रले जुन हत्याएको शासणसत्ता, पार्लियामेन्ट थियो त्यसको पुनर्जीवितको कुरा गरिराख्नुभयो । सायद, यसैमा थुप्रै कम्युनिस्टहरू विभाजित पनि भयो जस्तो लाग्छ । म राजनीतिक नभएको कारण म धेरै कुरा बुझ्दिनँ पनि । बुझ्न पनि खोज्दिनँ ।

बुवाको राजनीतिक विचार र कार्यशैलीले तपाईंलाई व्यक्तिगत रूपमा कस्तो प्रभाव पार्‍याे ?

परेन । केही प्रभाव परेन । अब हेर्नुस् उहाँको अवसानपछि मेरो काम सुरु भएको हो । त्यसले गर्दा खासै केही असर चाहिँ परेन । 

उहाँका विचारहरू अहिलेको समय सन्दर्भमा कति सान्दर्भिक छन् ?

उहाँको विचार सान्दर्भिक देखिएको २०४६ सालमा हो संयुक्त जनआन्दोलन भन्ने विचार । बाँकी कुरा यो कम्युनिस्ट आइडिओलोजी, सबै कुराको विषयमा म खासै कुरा गर्न चाहन्न ।

पुष्पलालको वैचारिक धरोहरलाई अहिलेको कम्युनिस्ट आन्दोलनले कति आत्मसात् गरेको छ भन्ने लाग्छ ?

आत्मसात् गरेको भए देश त उँभो लाग्थ्यो नि त । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।