अजय शाह
गौशाला (महोत्तरी), कात्तिक ८ गते । विगतमा मधेशी समुदायमा मात्र सीमित छठ अहिले देशभर फैलिएको छ । चार दिनसम्म मनाइने छठ पर्व आज (शनिबार)बाट विधिवत रूपमा सुरु भएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रूपमा मनाइने चारदिने छठ पर्व महोत्तरीसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ ।
छठ पर्वको पहिलो दिन आज व्रतालु (उपासक) हरूले (नहा खा) नुहाएर खाने विधि पूरा गरी छठ पर्वको शुभारम्भ गर्ने गर्दछन् ।छठ पूजाको दोस्रो दिन भोलि खर्ना मनाइन्छ । जसअन्तर्गत व्रतालुहरूले दिनभरि उपवास बसेर राति खीर, पुरीलगायतका वस्तुहरू गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरू खाने गर्दछन् ।
त्यस्तै, यस पर्वको तेस्रो दिन व्रतालुहरूले दिनभरि आ–आफ्ना घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्दछन् ।
त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ्उ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ ।
छठ पर्व मनाउन आज व्रतालुहरू नजिकको नदी, तलाउ र पोखरीमा छठ पूजाका लागि घाट अर्थात (पूजा गर्ने स्थान) बनाइरहेका छन् भने कतिपय ठाउँमा केराको थाम र लाखौँ रुपियाँको पन्डाल तथा रङ्गीचङ्गी बत्तीहरूले सजाउने कार्य गरिरहेका छन् ।
छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो । पण्डीत इन्द्रकान्त झाका अनुसार यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।
पहिले नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक यो पर्व मनाउँदै आएकोमा अहिले सङ्घीय राजधानी काठमाडौँसहित पहाडी समुदाय र मुश्लिक धर्माम्बलम्बीहरुले समेत मनाउन थालेको हुँदा यसको महत्त्व दिन प्रति दिन बढ्दो छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
भाकल पूरा भएपछि पछिल्लो तीन वर्षदेखि छठ पर्व मनाउन थालेको बर्दिवास नगरपालिका १ की तारा देवी ढकालले भन्नुभयो । उहाँले छठका लागि सबै पूजाका सामग्री किनमेल गर्ने काम आज गर्नका लागि तयारी गरेको सुनाउनुभयो ।
त्यसैगरी, गौशाला नगरपालिकाका मुश्लिक धर्माम्बलम्बी मोहम्मद युसिफ राइनले छोरा बिरामी भएर र छठ पर्वको भाकल गरेपछि ठीक भएपछि पछिल्लो दुई वर्षदेखि छठ मनाउन थालेको बताउनुभयो ।
इतिहास
सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठुलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।
विधि
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ्य दिन्छन् । व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीँ कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् । शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ ।
कात्तिक शुक्ल चतुदर्शीका दिनबाट सुरु हुने छठ पर्व नै यो एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सबैले ढोग्छन् सम्मान गर्छन्, तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन्, तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ ।
वर्षको दुई पटक चैत र कार्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । विधी विधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहि आएको छ । छालासम्बन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजिकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् ।
छैठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई जस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई बिना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।