राममणि दाहाल
हेटौँडा, कात्तिक ८ गते । हेटौँडा उपमहानगरपालिकाको विभिन्न क्षेत्रबाट सवारी नियम उल्लङ्घन गरी चलाइएका ३१ वटा दुई पाङ्ग्रे सवारी साधन मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
मादक पदार्थ सेवन गरी चलाएका र स्वरूप परीवर्तन गरी सञ्चालन गरिएका दुई पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चाडपर्व लक्षित सुरक्षा योजना अनुरूप जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मादक पदार्थ सेवन गरी चलाइएका २४ वटा मोटरसाइएकल नियन्त्रणमा लिइएको हो ।
यस्तै स्वरूप परीवर्तन गरी ध्वनी प्रदूषण गर्ने सात थान मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलको पार्टपुर्जाहरू फेरि स्वरूप परिवर्तन गर्ने, कम्पनीको साइलेन्सर परिवर्तन गरी ठुलो आवाजमा पड्किने बनाउने, रातको समयमा चर्को ध्वनी प्रदुषण गर्ने, समाजमा शान्ति सु–व्यवस्था खलल पार्दै आतङ्क सृजना गर्ने जस्ता गतिविधिमा संलग्न मोटरसाइकलहरू नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।