• ८ साउन २०८२, बिहिबार

‘मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकार चाँडै गठन हुन्छ’

blog

सञ्जय कुमार मिश्र

गौर, साउन ७ गते। नेपाली कांग्रेस मधेश प्रदेशका प्रचार विभाग संयोजक नितेश गुप्ताले सत्ता गठबन्धन दलको सहमतिअनुसार मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार चाँडै गठन हुने बताउनुभएको छ।     

नेपाली कांग्रेस पार्टी कार्यालय गौरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले कांग्रेस नेतृत्वमा मधेश प्रदेश सरकार गठनको लागि गृहकार्य भइरहेको बताउनु भएको हो। उहाँले भन्नुभयो, “कांग्रेस र एमालेबीच कांग्रेसको नेतृत्वमा सरकार गठनको सहमति भइसकेकोले चाँडै मधेशमा सरकार परिवर्तन हुनेछ।”

“जनमत पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले एक वर्ष पुरा गरिसकेको छ, आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार अब चाँडै कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ”, गुप्ताले भन्नुभयो, “कांग्रेस र एमालेबिच मधेश सरकार गठनको लागि गृहकार्य भइरहेको छ।” जनमतले पूर्वसहमतिअनुसार पनि सरकार छाड्नुपर्ने र कांग्रेसलाई हस्तान्तरण गर्नुपर्ने उहाँको भनाइ छ।  

मधेश प्रदेशमा एमाले सबैभन्दा ठुलो दल छ भने कांग्रेस दोस्रो ठुलो दल हो। मधेश प्रदेशमा एमालेका २३ र कांग्रेसका २२ प्रदेशसभा सदस्य हुनुहुन्छ। यस्तै सरकार गठनका लागि आवश्यक ५४ सङ्ख्या पु¥याउन लोकतान्त्रिक समाजवादी पार्टी, सङ्घीय समाजवादीलगायतका पार्टीसँग छलफल भइरहेको उहाँले बताउनुभयो। लोसपाका आठ र सङ्घीय समाजवादीका एक जना प्रदेश सभा सदस्य हुनुहुन्छ। 

नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवको नेतृत्वमा मधेश सरकार गठन हुने गुप्ताले बताउनुभयो। मधेश प्रदेशमा रहेका सबै दलसँग सहकार्य र समन्वय गरेर कांग्रेस र एमाले अघि बढनेसमेत उहाँले बताउनुभयो।