बोमलाल गिरी
नवलपुर, साउन ७ गते । नवलपुरको गैँडाकोट नगरपालिका –३ स्थित कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । हिउँदे खोलामा माथिबाट सुख्खा पहिरो झरेका कारण करिडोर पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार बैकल्पिक मार्गका रुपमा रहेको यो सडक खण्ड बुधबार बिहान साढे ११ बजेदेखि पूर्णरुपमा बन्द भएको हो । अवरोध हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको उहाँले बताउनुभयो ।
गैँडाकोट हुँदै पाल्पा पुग्ने यो सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुहरुले समस्या भोगिरहेका छन् । नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दाउन्नेमा अवरोध हुन सक्ने भन्दै यात्रुले कोरिडोरको बाटो प्रयोग गर्नेगरेका छन् । दाउन्ने खण्डमा भने निर्वाध गाडी चलिरहेको प्रहरीले जनाएको छ ।