• ९ साउन २०८२, शुक्रबार

सुनको मूल्य फेरि दुई लाखनजिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ८ गते । सुनको मूल्य फेरि बढेर तोलामा दुई लाख रुपियाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपियाँमा कारोबार भएको 

सुनको मूल्य बुधबार दुई हजार एक सय रुपियाँले बढेर एक लाख ९७ हजार छ सय रुपियाँमा कारोबार भएको छ । यस्तै मङ्गलबार तोलामा दुई हजार ३३० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार २० रुपियाँले बढेर दुई हजार ३५० रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य तीन हजार चार सय अमेरिकी डलर पुगेको छ । यसअघि मूल्य घटेर प्रतिऔँस तीन हजार दुई सय डलरसम्म झरेको थियो । 

यसअघि प्रतितोला एक लाख ९७ हजार नौ सय रुपियाँ पुगेको सुनको मूल्य घटेर एक लाख ८८ हजार रुपियाँमा झरेको थियो । बिचमा केही समय स्थिर रहेको सुनको मूल्य पछिल्लो एक सातादेखि पुनः बढ्न थालेको हो । 

पछिल्लो एक सातामा सुनको मूल्य तोलामा पाँच हजार तीन सय रुपियाँले बढेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजार अस्थिर हुँदा मूल्य बढ्दै गएको जानकारी दिनुभयो । 

विभिन्न देशमा भएका युद्ध, नीतिगत प्रभावले गर्दा सुनको मूल्य बढ्न थालेको उहाँले जानकारी दिनुभयो । मूल्य बढ्दै गएको र सुनमा लगाएको दुई प्रतिशत विलासिता करका कारणले गर्दा पनि बजारमा सुनको काराबोर न्यून भएको उहाँको भनाइ छ । 

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिरा जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो । सुनचाँदी व्यवसायी विलासिता कर र भ्याट हटाउनुपर्ने माग गर्दै झन्डै एक महिना पसल बन्द गरेर आन्दोलनमा उत्रेका थिए । 

सरकारले करसम्बन्धी विषयमा अध्ययन गर्न कमिटी गठन गरेपछि व्यवसायीले विरोधका कार्यक्रम स्थगन गरेका थिए ।