चित्र मिजार
सिन्धुपाल्चोक, साउन ९ गते । भोटेकोशीको सहायक ल्हेन्देखोलामा आएको बाढीका कारण रसुवा नाकामा अलपत्र परेका २०३ जना नेपालीलाई चिनियाँ सुरक्षाकर्मीले तातोपानी नाका ल्याइदिएका छन् । तातोपानीबाट बाह्रबिसे नगरपालिका र पूर्वअरनिको यातायात सेवा समितिले राजधानीसम्म निःशुल्क यातायातका सुविधा उपलब्ध गराएको छ ।
उनीहरूलाई चीनका सुरक्षाकर्मीले तातोपानी नाका ल्याएर प्रमुख जिल्ला अधिकारी किरण थापालाई जिम्मा लगाएका थिए । प्रजिअ थापाले नेपाली नागरिकलाई राजधानीसम्म पु¥याउन बाह्रबिसे नगरपालिकाले चार वटा यात्रुवाहक बस र पूर्वअरनिको यातायात सेवा समितिले तीन वटा बसबाट सेवा पु¥याउन थालेको जानकारी दिनुभयो ।
बाढीका कारण केरुङमा अलपत्र नेपाली नागरिकलाई उनीहरूको घरसम्म पु¥याउन निःशुल्क बसको व्यवस्था गरेको बाह्रबिसे नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । भोटेकोशी गाउँपालिकाले तातोपानीमा खानपानको व्यवस्था मिलाएको हो । असार २४ गते भोटेकोशीको बाढीले रसुवाको मितेरी पुल आसपास रहेका ७२ जना कन्टेनर चालकलगायतका नेपाली नागरिकलाई चीन सरकारले उद्धार गरेर केरुङ लगेर खाने बस्नेलगायतका सुविधासहित सुरक्षित राखेको थियो । उनीहरूमध्ये कतिपय कन्टेनर चालकले कन्टेनरको छतमा चढेर ज्यान जोगाएको बताएका थिए ।
केरुङमा अड्किएका र तत्काल आउन चाहनेलाई सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले ल्हासास्थित नेपाली वाणिज्य दूतावासमार्फत समन्वय गरेपछि चिनियाँ अधिकारीले तातोपानी नाकासम्म ल्याइदिएका हुन् ।
बाढीले टिमुरे–केरुङ सडक बगाएपछि चीनको कैलाश मानसरोवर गएका गैरआवासीय भारतीय तीर्थयात्री पनि तातोपानी हुँदै नेपाल फर्केका छन् । तातोपानी अध्यागमन कार्यालयका प्रमुख कृष्ण खनालले असार १० गतेबाट हालसम्म एक हजार ८५४ पर्यटक तातोपानी नाका हुँदै फर्केको जानकारी दिनुभयो । जसमध्ये अधिकांश मानसरोवर गएका तीर्थयात्री रहेका छन् । सोही अवधिमा एक हजार २७८ जना पर्यटक चीन पुगेका थिए । जसमा एक हजार एक सय पर्यटक मानसरोवर पुगेका थिए । गत बुधबार १९८ जना पर्यटकलाई हेलिकोप्टर र यात्रुवाहक बसमार्फत तातोपानीबाट काठमाडौँ पु¥याइएको खनालले बताउनुभयो ।
कार्यालयका अनुसार अहिले दैनिक ७० जनाभन्दा बढी तीर्थयात्री सवारीसाधनमार्फत राजधानी फर्किंदै गरेका छन् । मानसरोवरबाट फर्किनेमा भारतीय, अमेरिकन, सिङ्गापुर, मलेसिया, क्यानडा, आयरल्यान्डलगायतका देशका नागरिक रहेको जनाइएको छ । मानसरोवरबाट अझै ठुलो सङ्ख्यामा तीर्थयात्री फर्कन बाँकी रहेको छ । केरुङमा आएको बाढीले अलपत्र परेका नेपालीलाई तातोपानी नाका हुँदै काठमाडौँ ल्याइँदै ।