खेमराज सापकोटा
विराटनगर, साउन १० गते । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक अनुशासन र पारदर्शितातर्फ कदम चालेको देखिएको छ । एक वर्षको अवधिमा यो मन्त्रालयले कुल पाँच अर्ब ९५ करोड रुपियाँभन्दा बढी बेरुजुमध्ये चार अर्ब एक करोड ४४ लाख रुपियाँभन्दा बढी बेरुजु फर्छ्यौट गर्न सफल भएको हो ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भूपेन्द्र राईले बेरुजु फर्छ्यौटको तथ्याङ्क सार्वजनिक गर्दै यो सुधारात्मक पहल रहेको बताउनुभयो । उहाँका अनुसार कूल बेरुजुमध्ये ६७.४१ प्रतिशत फर्छ्यौट भइसकेको छ । असुल गर्नुपर्ने बेरुजु १० करोड ९८ लाख रुपियाँ, पेस्की बेरुजु तीन अर्ब ६ करोड रुपियाँ र नियमित गर्नुपर्ने एक अर्ब एक करोड रुपियाँमध्ये अधिकांश रकम फर्छ्यौट भएको हो ।
मन्त्रालयले बेरुजु नियन्त्रणसँगै विकास निर्माणमा पनि उल्लेख्य प्रगति गरेको मन्त्री राईले पत्रकार सम्मेलनमा जनाउनुभयो । मन्त्री राईका अनुसार एक वर्षभित्र ११३.८९ किलोमिटर सडक कालोपत्र, १७५.४९ किलोमिटर ग्राभेल, १६.७१ किलोमिटर आरसीसी–पिसीसी ढलान तथा ४७.९६ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ ।
त्यस्तै, १८ वटा सडक पुल, १६ वटा झोलुङ्गे पुल र ११ वटा बहुवर्षीय सडक आयोजनामार्फत थप ११५.८९ किलोमिटर सडक निर्माण भएको छ ।
यस्तै, प्रदेश स्रोत र सङ्घीय सशर्त अनुदानबाट गरी कुल पाँच सय ३८ विपन्न नागरिकका लागि घर निर्माण सम्पन्न भएको छ । मन्त्रालयले १३ सरकारी भवन, ६९ सामुदायिक भवन, ११ सभा हल, ४० विद्यालय पूर्वाधार, २५ धार्मिक पूर्वाधार, ११ कभर्ड हल र १० वटा खेल मैदान निर्माण गरेको जानकारी मन्त्री राईले दिनुभयो ।
मन्त्री राईले चालु आर्थिक वर्षभित्र स्रोत सुनिश्चित भएका आयोजनाहरूको ठेक्का प्रक्रिया पहिलो त्रैमासिकमै सम्पन्न गरिने बताउनुभयो ।