धर्बेन्द्र झा
जनकपुरधाम, साउन ९ गते। मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले विभिन्न क्षेत्रलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले एकीकृत कानुनको रुपमा समाज कल्याण ऐन ल्याउन लागेको बताउनुभएको छ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले लाइफ नेपालको सहयोगमा प्रदेश तहमा सामाजिक सुरक्षा नीतिको आवश्यकता सम्बन्धी जनकपुरधाममा गरेको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।
उहाँले प्रदेश सरकारले ल्याउन लागेको समाज कल्याण ऐनले समाजिक सुरक्षा र समाजिक संरक्षणका कुरालाई समेत समेट्ने भन्दै हामीले बनाउने कानुन माटो सुहाँउदो हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले समाज कल्याण ऐन भित्र ज्येष्ठ नागरिक, अल्पसंख्यक समुदायसहित समाज भित्रका अन्य विषयवस्तुलाई समेत समेटिने गरी प्रदेश सरकारले ऐन ल्याउने तयारी गरिरहेको बताउनुभयो।
कार्यक्रममा उच्च स्तरीय शासकीय सुधार आयोगका सदस्य डा.दिपेश घिमिरेले नेपालमा तिनै तहका सरकारले कुनै न कुनै रुपमा समाजिक सुरक्षाको क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो। ८७ किसिमका समाजिक सुरक्षाका कार्यक्रम नेपालमा संचालन गरिएको उहाँको भनाइ छ।
खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव रंजित यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजिक सुरक्षा नागरिक समाजका अध्यक्ष तिलोतम पौडेल, लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर सहितले विपत मैत्री समाजिक सुरक्षाका विषय वस्तुको अझै पनि अभाव रहेकोले प्रदेशले नीति निमार्ण गर्नु पर्नेमा जोड दिनुभयो।
छलफल कार्यक्रम पश्चात समाजिक सुरक्षा नीति निमार्णका लागि खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव यादवको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ।