• १० साउन २०८२, शनिबार

जहानियाँ जरो हल्लाउने त्यो क्रान्ति

blog

इतिहास आफैँ बन्दैन, असल कर्मले बनाउनु पर्छ । समाज परिवर्तन गर्छु भनेर मात्रै हुँदैन, त्यसका लागि आत्मविश्वास, दरिलो इच्छाशक्ति, असल कर्म र सामूहिक प्रतिबद्धता आवश्यक हुन्छ । युगौँदेखि समाजमा जरा गाडेर बसेका सामाजिक मूल्यमान्यता र परम्परा भत्काउन त्यति सहज छैन । यथास्थितिवादी र प्रतिक्रियात्मक समाज बदल्न त झनै कठिन हुन्छ । आजभन्दा ७१ वर्षअगाडिको समाज कस्तो थियो होला ? समाजका ती पुरातनवादी मान्यता र संस्कार भत्काउनु चानचुने परिवर्तन थिएन । 

विसं २००६ साउन ११ गते लमजु्ङको दुराडाँडामा बाहुनले हलो जोतेर पुरातनवादी संस्कार मात्रै तोडेनन् निरङ्कुश राणाशासकलाई समेत हल्लाए । क्रान्ति गर्न हतियार नै समात्नु पर्छ भन्ने मान्यतालाई गलत साबित गरिदिए । हलो क्रान्तिले २००७ सालको जनक्रान्तिका पक्षमा ऊर्जा थप्ने काम गर्‍यो । दुराडाँडामा हलो जोतिएपछि त्यसको प्रभाव ठाउँ ठाउँमा पर्‍यो । तनहुँमा २००६ साल पुसमा, धादिङ र कास्कीमा सोही साल फागुनमा, गोरखामा २००७ साल वैशाखमा र अर्घाखाँची र स्याङ्जामा २००७ मा बाहुनहरूले हलो जोतेर दुराडाँडाको कदमलाई समर्थन गरे । हलो क्रान्ति केवल क्रान्ति मात्रै नभई कृषि कर्मको सम्मान, चेतनाको जागरण, समाजिक एकता र विकासका लागि गरिएको सामाजिक क्रान्ति थियो । २००४ सालमा रानीपोखरीस्थित छात्रावासबाट उठेको ‘जयतु संस्कृतम्’ जस्तै प्रतीकात्मक थियो ।

समाजमा चेतनाको दियो बाल्नुजत्तिकै कठिन छ बाँझो जमिन जोत्न । माथि राणा शाहीको जगजगी थियो भने भुइँ तहमा तिनीहरूकै मन जित्न सक्ने कथित सामन्तको दबदबा । परिवर्तन र चेतनाका पक्षमा कसैले मुख खोल्न सक्ने अवस्था थिएन । समाजमा चेतनाको दियो बाल्नु पर्छ भन्ने उद्देश्यले दुराडाँडा मौजामा चार जना अगुवाको एउटा समूह बन्यो–मुखिया हरिदास अधिकारी, पण्डित तोयनाथ अधिकारी, ले. शेषकान्त अधिकारी र मुखिया हरिभक्त पौडेल । समूहको उद्देश्य थियो गरिब किसानका पक्षमा राणाको जरोकिलो हल्लाउने । 

तिनै चार जनाको सल्लाहमा दुराडाँडामा महाभारत पुराण लगाउने निधो गरियो । दिवङ्गतको गतिमुक्ति र जीवितहरूको सामाजिक, सांस्कृतिक र राजनीतिक मुक्तिका लागि भन्दै २००३ सालमै महाभारत पुराण लगाइयो । जहाँ श्रीमद्भागवत सप्ताह, श्रीमद्देवीभागवत नवाह, शिवमहापुराण र रामायण पाठ गरिएको थियो । महाभारत पुराण लगाउनुको उद्देश्यसँग समाज रूपान्तरणको साइनो जोडिएको थियो । हलो क्रान्तिको जग पनि यही पुराणले हालेको हो । २००५ साल फागुनमा चारजना अगुवामध्येका हरिदासको निधन भएपछि उहाँका पुत्र श्रीकान्त अधिकारी पनि यो अभियानमा जोडिनुभयो । 

हलो जोत्ने सल्लाह त भयो तर अभियानलाई कसरी अघि बढाउने त ? यस विषयमा बहस गर्न गाउँले भेला राखियो । भेलामा पण्डित तोयनाथले ब्राह्मणले हलो जोतेर समाज परिवर्तनको थालनी गर्नु पर्छ भन्ने जुक्ति निकाल्नुभयो । भेलाका सहभागीले पक्ष र विपक्षमा मत जाहेर गरे । पक्षमा बोल्नेहरूको मत बलियो भएपछि २००६ साल साउन ११ गते हलो जोत्ने निर्णय भयो । प्रतिष्ठित पण्डित तोयनाथले अच्र्यल्यानीस्थित आफ्नै बारीमा गोरु नारेर हलोको अनौ समाई यस कार्यको थालनी गर्नुभयो । त्यसपछि ले. शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेललगायतका युवाले हलो जोतेपछि समाज रूपान्तरणको जग बसालिएको थियो । हलो क्रान्ति सामूहिक एकताको उपज थियो । साहसी पूर्वजले नेतृत्व गरे, त्यो समाज रूपान्तरणका लागि थियो, व्यक्तिको देवत्वकरणका लागि थिएन । जुन अभियान हलो क्रान्तिका नामले देशविदेशमा प्रसिद्ध छ । 

समाजमा जातीय विभेद थियो । त्यसैलाई तोड्न हलो जोत्ने क्रममै तोयनाथले एक जना दलितलाई पानी ल्याउन लगाएर उनकै हातको पानी खानुभएको थियो । माइत आएकी छोरीलाई घर पठाउँदा एक जना दलितलाई कोसेली बोकाई पठाएको र घरपट्टिकाले कोसेलीसहित बुहारीलाई माइत फिर्ता पठाएको घटना हलो क्रान्ति स्थलमा उपस्थित अग्रजहरूले सुनाउनुहुन्थ्यो । हलो जोत अभियानले सामाजिक भेदभाव/छुवाछुतविरुद्ध समाजमा सकारात्मक सन्देशसमेत फैलाएको थियो । यो अभियानमा सहभागीमध्ये सबैको निधन भइसकेको छ । 

बाहुनले हलो जोतेपछि दुराडाँडाको समाज दुई वर्गमा बाँडियो । सामाजिक बहिस्करणका कुरा पनि उठे । हलो जोत्ने बाहुनका छोरीबुहारी घरमाइत गर्न पाएनन् तर केही समयपछि गृहस्थीका लागि हलो जोत्ने कार्य मर्यादित र प्रतिष्ठापूर्ण मान्न थालियो । बाहुनले नै हलो जोत्न थालेपछि मुलुककै सिङ्गो कृषक समाजले त्यसलाई ग्रहण गर्न थाल्यो । रोकिएका सबै कर्मले छुटकारा पाउँदै गए । 

यत्तिकैमा सबैथोक रोकिएन । हलो जोतेको ठिक एक वर्षपछि २००७ साउन ११ गते राणा शासकले पण्डित तोयनाथ, ले. शेषकान्त र श्रीकान्तलाई पक्राउ गरी पोखरा चलान गर्‍यो । रातारात पुर्काङ जङ्गलको बाटो कुन्छा हुँदै १२ कोषको बाटो हिँडाएर भोलिपल्ट उहाँहरूलाई पोखरा गोश्वारमा हाजिर गराइयो । 

‘हामीलाई देख्नासाथ अट्टालिकामा निस्केर बडाहाकिम धनशमशेर जबराले राजद्रोही तिमीहरूलाई अब बाँकी राख्दिनँ भनेर ललकार्न थाले । फत्तेबहादुर सरदार अट्टालिकाबाट तल झरे । मेरो जुवारीकोटको कठालो तानेर यही हो हलो जोताउने मास्टर भन्न थाले । पण्डित. तोयनाथ झट्ट अगाडि सर्नुभयो र भन्नुभयो, “जोताउने म हुँ, बाहुनले हलो जोत्न हुन्न भन्ने कहीँ पनि छैन ।” फत्तेबहादुर अक्मकिए । अनि यिनीहरूलाई जेलचलान गर भनेर हामीहरूलाई पोखरा नालामुख भीमसेनस्थानको नारकीय जेलमा पुर्‍याइयो । त्यसपछि ले. शेषकान्त कड्किनुभयो, लेउ पुर्जी, जहाँसम्म पुर्जी हातमा हुँदैन हामी यहाँभित्र बसेर अन्नपानी खाँदैनौँ । यो कुराले जेलभित्र र बाहिर ठुलो हलचल मच्चियो । 

हामी ४८ घण्टा अनसन बस्यौँ । भोलिपल्ट बडाहाकिमले गोश्वारामा हाजिर हुने गरी छाडिदिए । हाम्रो बयान लिइयो । बाहुनले हलो किन जोतेको र जोताएको ? राजकाजमा असर पुग्ने गरी समाजमा हल्ला मच्चाएको किन ? हामीले भन्यौँ, किसानको आवश्यकताको कुरा हो, कानुन र शास्त्रमा कहीँ पनि निषेध छैन । त्यसैले जोते–जोताएको हो, बरु प्रशासनका ठेकेदारले किन हल्ला मच्चाएको भनेर प्रतिप्रश्न गरियो । त्यसपछि हामीलाई तारेखमा छाडियो ।’ (हंसपुरे सुवेदीको ‘सांस्कृतिक परिवेशमा नेपालको हलो क्रान्ति’ (२०५९) शीर्षकमा प्रकाशित पुस्तकमा उल्लिखित श्रीकान्त अधिकारीको विशेष मन्तव्यबाट)

हलो जोत्ने अभियानबारे कवि शिरोमणि लेखनाथ पौडेलले भन्नुभएको छ, “यो कुनै अनौठो मान्नुपर्ने कुरा होइन, समयको कुरा हो, सुकेको काठ जोडी जिउँदा गोरुलाई धपाउनु कुनै नहुँदो उल्का कुरा ठानिन्न ।” जसलाई २००७ /२००८ सालतिरको जनश्रृति भनेर उल्लेख गरिएको छ । दुराडाँडामा ब्राह्मण जातिले हलो जोते रे भन्ने खबर काशीसम्म पनि फैलियो । ‘धत्तेरी उल्का गरे छन्’ भनेर काशीका पण्डितहरूले पनि जिब्रो टोके रे ! जुन कुरा ‘लोकसंस्कृतिको घेरामा लमजुङ’ (२०४१) नामक पुस्तकमा लेखिएको सुवेदीको उक्त पुस्तकमा उल्लेख छ ।

हलो क्रान्ति राज्यशक्तिकै कारण समाजमा उत्पन्न रूढिवादी सोच र मनोविज्ञानलाई ढाल बनाई परिवर्तनकारी शक्तिलाई गरेको दमनकै विरुद्धमा पनि थियो । बाहुनको मुख्य काम विद्याबाट आर्जित ज्ञानको प्रयोगले जिब्रोलाई हतियार बनाई समाजमा श्रेष्ठता प्रदर्शन गर्नु थियो । धार्मिक संस्कारका कर्ममा संलग्न हुनु बाहुनको कर्तव्य मानिन्थ्यो । यस्तो समाजमा लोकले स्थापित गरेका मान्यताविरुद्धको क्रान्ति अस्वाभाविक लाग्नु स्वाभाविक थियो । 

क्रान्तिको उद्देश्य बाहुनले हलो जोत्नेसँग मात्र सम्बन्धित थिएन । मानिस चिन्तन–मनन, सोच–विचार, विवेक र कर्मले ठुलो हुन्छ, जन्म अर्थात् जातले हुँदैन भन्ने सन्देश पनि क्रान्तिले प्रवाह गरेको छ । निरक्षरता उन्मूलन गर्ने, दलितले पनि पढ्न पाउनुपर्ने, जातीय विभेद हटाउने, गरिब किसान र जग्गाधनीबिचको तेउ प्रथा अन्त्य गर्ने, महिलालाई पनि शिक्षित बनाउने र दुरा जातिको उत्थान गर्ने जस्ता पवित्र उद्देश्य थिए । 

क्रान्तिले गरिब किसानलाई सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्यो । बाहुनले हलो नजोत्ने भएपछि हलि पाउन समस्या हुने । सबैले जोत्न थालेपछि समयमा खेती गर्न सकियो, उब्जनी पनि बढ्ने भयो । क्रान्तिले कृषि कर्मको सम्मान पनि बढायो । संसारभर कृषिकर्मलाई जीवनमूलक र सम्मानयुक्त मानिन्छ । आत्मनिर्भरता र आयआर्जनको मुख्य व्यवसाय नै कृषि कर्म हो, यसको सम्मान गर्न सके मुलुक आत्मनिर्भर हुन सक्छ भन्ने मूल ध्येय थियो । 

प्रजातन्त्र र समाजवाद केवल भाषणले मात्रै आउने होइन, यो चेतनशील र सिर्जनशील कर्मले गरिने आर्थिक र सामाजिक आन्दोलनबाट मात्रै सम्भव छ । त्यही आन्दोलनको पहिलो पाइला हो हलो क्रान्ति । त्यो क्रान्तिले सामाजिक मनस्थिति मात्रै खल्बल्याएन २००७ सालको जनक्रान्तिलाई पनि बल पुर्‍यायो ।

हलो क्रान्तिले ल्याएको जागरण, सामाजिक एकता र कृषि क्रान्तिमय भएको त्यो दुराडाँडा आज सुनसान छ । मानव बस्ती रित्तो जस्तै भएका छन् । हरियाली डाँडा डोजरे विकासको मारमा परेका छन् । अधिकांश घरमा ढोका लागेको छ । खेतीबारी बाँझो मात्रै छैन, काँस फुलेर सेताम्मै देखिन्छ । हिजो पण्डित तोयनाथको सल्लाहमा तरकारी खेती गरेर दुराडाँडेलाई आलु, काउली र मूला खुवाउनुभएका धारापानीका सामाजिक अगुवा कोषनाथ न्यौपानेको त्यो बारीमा आज कुनै तरकारी फल्दैन । जसले फलाएको काउली प्रत्येक वर्ष राजा वीरेन्द्रको जन्मोत्सव (पुस १४) मा सदरमुकाम बेँसीसहरमा गरिने प्रदर्शनीमा पहिलो पुरस्कार पाउन सफल हुन्थ्यो । आज दुराडाँडावासी नै तरकारी किनेर खान्छन् । हाम्रो त्यो पुरानो कर्म, मेहनत, संस्कृति र मौलिकता बिस्तारै लोपोन्मुख हुँदै छ । के हामी फेरि त्यो दुराडाँडालाई हलो क्रान्तिकै अवस्थामा फर्काउन सक्छौँ त ? समयको गति र प्रविधिको पदचाप पच्छ्याउनै पर्‍यो । त्यसो भनेर मात्रै पनि हुँदैन, आफू जन्मे हुर्केको गाउँठाउँ, पूर्वजले कोरेको मार्गचित्र र शैक्षिक जागरणले स्थापित गरेको पहिचान जोगाउन हामी फेरि एकजुट हुनै पर्छ । जेन्जी पुस्ता सोध्दै छ, हलो भनेको के हो ? कृषिप्रधान देशको जेन्जी पुस्ता, जसले हलो इतिहास पढेर जान्नुपर्ने अवस्था छ । यहाँनेर लमजुङकै गहना एवं लोकसम्राट राजु परियारको गीतको याद आयो–


कस्तो थियो त्यो बेला गाउँ पनि, 

बिरानो भो जन्मेको ठाउँ पनि 

दुराडाँडे दाइ, माया मार्‍यो रे भन्देउ मायालाई


हो, आज दुराडाँडा साँच्चिकै बिरानो भएको छ । ऐतिहासिक विरासत बोकेको त्यो गाउँ मुक्तिनाथ अधिकारीको हत्यापछि बिस्तारै सुनसान बन्दै गयो । माओवादीले गरेको सशस्त्र आन्दोलनको सिकार हुनुभयो मुक्तिनाथ जसको दोष थियो, गाउँमा शिक्षाको ज्योति बाल्नु । हलो क्रान्तिको उद्गम स्थल, शैक्षिक जागरणको केन्द्र, ६ वटा गाउँ विकास समिति ओगटेको त्यो दुराडाँडाको ऐतिहासिक विरासत तीन वटा नगरपालिकामा विभाजित गरिदिएर समाप्त पारियो । क्रान्तिकारी कदमको इतिहास बोकेको, सामाजिक एकताको नमुना र पूर्वजले सिर्जेको ऐतिहासिक भूमि दुराडाँडा बैरीहरूको खेलमैदान बन्यो । यसलाई फेरि एकीकृत गरी संरक्षण गर्नु हाम्रो कर्तव्य हो । 

देश बनाउन भनी लागिपरेका राजनीतिज्ञ आफू बदलिए तर समाज बदल्न सकेनन् । राजनीतिलाई नै साध्य ठान्नेहरूले समाज बदल्न सक्दैन, आफूमात्रै बदलिन्छ । राजनीतिका नाममा व्यक्ति बने, व्यक्ति बनाउने राजनीतिक दल क्षयीकरण हुँदै गए । राजनीति साधन हो, साध्य होइन भन्ने चेतना अझैसम्म पलाएन । हलो क्रान्तिका अगुवाले पनि यसलाई साध्य ठानेको भए त्यो अभियान देशव्यापी हुन सक्थ्यो होला ? राजनीतिलाई समाज सुधार, सामाजिक विकास र रूपान्तरणको साधन बनाउन सकेको भए नागरिकले दुःख पाउने थिएनन्, पूर्वजले गरेका सबै क्रान्तिको उद्देश्य पनि पूरा हुने थियो । बाँझिएका जमिन पनि जोतिने थिए ।