गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १० गते । नेपाली समाजमा जल र संस्कृतिबिच रहेको अन्योन्याश्रित सम्बन्धलाई केलाउने प्रयास गरिएको नीरणकुमार राजवंशी लिखित पुस्तक ‘जलसंस्कृति र सम्पदा’ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । संस्कृतिविद् हरिराम जोशीले सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।
राष्ट्रिय सङ्ग्रहालयद्वारा आयोजित सो कार्यक्रममा संस्कृतिविद् जोशीले जलसंस्कृति र सम्पदासम्बन्धी धेरै पुस्तक प्रकाशनमा नआएको चर्चा गर्दै जलसंस्कृतिका विषयमा पुस्तक ल्याएर राजवंशीले निकै प्रशंसनीय कार्य गरेको बताउनुभयो । संस्कृतिविद् जोशीले बालकलाई आमाको दुधको आवश्यकता जत्ति नै मानवजीवनमा पानीको महìव भएको चर्चा गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा. सुरेशसुरस श्रेष्ठले नेपाली संस्कृति अभिन्न अङ्ग बनेको पानी मानव सभ्यताको आधार पनि भएको बताउनुभयो । उहाँले जलसंस्कृति र सम्पदा पुस्तकमा पानीसँग सम्बन्धित अभिलेख राखिनुले यससम्बन्धी अध्ययनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले नेपाली परम्परामा मानव सभ्यताको आधार पानीको संरक्षणका लागि अपनाइएका सबै विधि र परम्पराबारे लेखिएको पुस्तक जलसंस्कृति र सम्पदा पुस्तक सबैका लागि उपयोगी हुने बताउनुभयो । सहरी विकासविज्ञ पदमसुन्दर जोशीले पुस्तकबारे चर्चा गर्दै पानीको स्रोत संरक्षणका लागि नेपाली संस्कृतिमा पानीसँग जोडिएका सिथि नखः, गठा मुगः रातो मछिन्द्रनाथ जात्रालगायत पानी नपर्दा पनि देवतालाई पानी माग्ने विधि पुस्तकमा उल्लेख रहेको चर्चा गर्नुभयो ।
उहाँले उपत्यकाको सभ्यतासँग जोखिएको बागमती, विष्णुमती, मनोहरालगायतका यहाँका पोखरी, पानीसँग जोडिएको प्रणालीलगायत देशभरका कुण्ड, पोखरी, नदी, त्यससँग सम्बन्धित पर्व, पूजा, तीर्थव्रतका सम्बन्धमा समेत पुस्तकले जानकारी दिने बताउनुभयो । उहाँले मन्दिरका तोरणमा राखिने गङ्गाजमुनालगायत पानी देवताका चित्र, मूर्तिबारे समेत पढ्न पाइने यस पुस्तकमा पानीसम्बन्धी ऐतिहासिक प्रमाणबारे पनि उल्लेख गरिएको चर्चा गर्नुभयो ।
प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले पानी संस्कृतिबारे लेखिएको यस पुस्तक सङ्ग्रहणीय पुस्तकका रूपमा पाठकसामु आएको बताउनुभयो । लेखक नीरणकुमार राजवंशीले मानव सभ्यताको आधार पानीको स्रोतको दोहन, नदी संस्कृति फोहोर भएर पानीको अभाव भइरहेको हालको सन्दर्भमा पानी अर्थात् जलको संरक्षणका लागि नेपालमा भइरहेको सांस्कृतिक अभ्यासबारे लेख्ने प्रयास गरेको र यस पुस्तक जलसंरक्षणका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।