• १० साउन २०८२, शनिबार

लागुऔषध कारोबार नियन्त्रणमा सकारात्मक प्रयास

साना कारोबारी समातिए, ठुला सञ्जाल ठम्याउनै सकस

blog

प्रहरी नियन्त्रणमा लिएको लागुपदार्थ । फाइल तस्बिर

शशिधर पराजुली 
विराटनगर, साउन ९ गते ।
लागुपदार्थको बढ्दो कारोबारबाट सामाजिक क्षेत्रमा नकारात्मक असर पर्दै गएपछि अवैध कारोबार नियन्त्रण गर्न चलाएको निरन्तर अभियानका क्रममा झण्डै दुई हजार व्यक्तिहरु पक्राउ परेका छन् ।

लागुऔषधका कारण युवाहरुमा नकारात्मक लत बस्ने र त्यसले सामाजिक अपराधलाई समेत बढाउने गरेका कारण प्रहरीले अभियानकै रुपमा नियन्त्रणको प्रयत्न गरेको हो । भारतसँग सीमा जोडिएका जिल्लाहरुबाट ब्राउन सुगर, चरेस र विभिन्न मनोदिपक औषधी भित्रिने र नेपालबाट भारततर्फ गाँजा तस्करी हुने गरेकोले गतवर्ष प्रहरीले तस्करीको उक्त सञ्जाल तोड्न बढी मिहिनेत गरेको देखिएको हो ।

कोशी प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस अवधिमा लागुपदार्थ कारोबारमा संलग्न एक हजार ९८५ जनालाई पक्राउ परेका छन् । जसमा एक हजार ८८८ पुरुष र ९७ महिला छन् । तर पक्राउ पर्ने अधिकांश व्यक्तिहरु स–साना परिमाणमा ओसारपसार गर्ने ‘भरिया’ र प्रयोगकर्ताहरु मात्रै हुन् । तस्करीको मुख्य सञ्जाल भने प्रहरीले पूर्णरुपमा तोड्न सकेको छैन ।

प्रहरीको सक्रियताका कारण एक वर्षमा ठुलो परिमाणमा अवैध लागुऔषध र लागुपदार्थ बरामद भएको छ । असार मसान्तसम्म प्रहरीले पाँच किलो ४८९ ग्राम ब्राउन सुगर, ६ लाख १५ हजारभन्दा बढी लागुऔषधका चक्की र क्याप्सुल बरामद गरेको छ । यसैगरी, प्रदेश प्रहरीले लागुऔषधको अर्को मुख्य स्रोत गाँजा नियन्त्रणमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको पाइएको छ । कोशी प्रदेशमा एक वर्षमा २६ हजार ७०५ किलो गाँजा सीमावर्ती जिल्लाहरुबाट बरामद भएको छ ।

विशेषगरी कोशी प्रदेशका पहाडी जिल्लाहरू धनकुटा, भोजपुर र उदयपुरमा अवैध रूपमा गाँजाको व्यावसायिक खेती हुने गरेको छ । ती जिल्लाहरुमा उत्पादन भएको गाँजा विभिन्न सवारी साधन तथा कोशी नदीको जलवहावमार्फत तराईसम्म ल्याउने र अनुकुलता हेरेर भारततर्फ तस्करी गर्ने गरिएको छ । त्यसमा सङ्गठित गिरोहको संलग्नता रहेको प्रहरीको आशङ्का छ तर प्रहरी उक्त गिरोहसम्म पुग्न असमर्थ रहँदै आएको छ । पूर्वी तराईको झापा, मोरङ र सुनसरीका ग्रामीण क्षेत्रबाट खुला सीमानाको प्रयोग गरेर गाँजा भारततर्फ तस्करी हुने गरेको पाइएको छ । प्रहरीले गाँजा उत्पादन हुने ती जिल्लाहरुमा लगाइएको गाँजाका बोटहरु बर्सेनि नष्ट गर्दै आएको छ ।

गतवर्ष पनि प्रहरीले १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट काटेर नष्ट गरेको थियो । यद्यपि, प्रहरीको यो अभियानका बाबजुद पनि पहाडी क्षेत्रमा लुकिछिपी गाँजा उत्पादन गर्ने र त्यसलाई तस्करी गर्ने क्रम रोकिएको छैन ।

प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीका अनुसार लागुऔषधको कारोबारले हत्या, लुटपाट जस्ता गम्भीर अपराध बढाएकाले यसको नियन्त्रण गर्न प्रहरीको विशेष ध्यान दिइरहेको छ । ‘‘लागुऔषधको ओसारपसार रोक्न राजमार्ग, भित्री सडक र सीमा नाकामा कडा निगरानी र चेकजाँच गरिरहेका छौं,’’ उहाँले भन्नुभयो, ‘‘एम्बुलेन्स, तरकारी बोक्ने गाडी, पेट्रोल ट्याङ्करदेखि मानिसको मलद्वारमासमेत राखेर ओसारपसार गरिएका लागुऔषध बरामद गर्न प्रहरी सफल भएको छ, प्रहरीले सूक्ष्म निगरानी गरी तस्करीको  प्रयास विफल बनाएको छ ।’’

तस्करीमा एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट तथा तरकारी बोक्ने गाडीमा समेत ढुवानी हुनुले यो धन्दा सङ्गठित रुपमा भइरहेको प्रहरीको बुझाइ छ ।

ठुलो सङ्ख्यामा कारोबारी पक्राउ परेको र बरामद हुँदा पनि पूर्व–पश्चिम राजमार्ग आसपासका बस्तीदेखि धरान, केराबारी, दमक र बिर्तामोड जस्ता सहरी तथा ग्रामीण क्षेत्रमा यसको प्रयोग र कारोबार घटेको छैन । प्रहरी मुख्य कारोबारीसम्म पुग्न नसक्दा लागुपदार्थको आयात निर्यात नियन्त्रणको प्रयास पूर्णरुपले सफल बन्न नसकेको सरोकारवालाहरुको बुझाइ छ ।