गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १० गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीतिगत सुधारले विदेशी लगानी स्वीकृति दर बढ्दै गएको बताउनुभएको छ ।
रोजगारदाताको अन्तर्राष्ट्रिय सङ्गठनका महासचिव रोबर्टो स्वारेज सान्तोससँगको शुक्रबारको भेटमा मन्त्री भण्डारीले सरकारले व्यवसायमैत्री तथा लगानीमैत्री वातावरण निर्माणसँगै लगानी भित्र्याउन नीतिगत, कानुनी र प्रक्रियागत सुधार भइरहेकाले त्यसको परिणामस्वरूप विदेशी लगानी स्वीकृतिका दर क्रमशः वृद्धि भइरहेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा अवरोध हुँदाहुँदै पनि नेपालको अर्थतन्त्र पुनरुत्थानका क्रममा रहेको उल्लेख गर्दै नेपालको आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको विचार व्यक्त गर्नुभयो ।
नेपालको सन् २०२६ मा अति कम विकसित मुलुकबाट हुने स्तरोन्नति तथा दिगो विकास लक्ष्यप्राप्तिको सन्दर्भमा थप स्रोत, प्रविधि, क्षमता विकास र साझेदारी आवश्यक रहेकाले पनि नेपाली निजी क्षेत्रबिच साझेदारी प्रवर्धन हुने मन्त्री भण्डारीले अपेक्षा व्यक्त गर्नुभयो ।
मन्त्री भण्डारीले महासचिव सान्तोसलाई नेपालमा रहेका लगानी सम्भावनाबारे विश्वभरका लगानीकर्तामाझ सूचनाको सम्प्रेषण, नेपालका साना तथा मझौला उद्यमी व्यवसायीको क्षमता विस्तार तथा आधुनिक प्रविधिको हस्तान्तरणलगायतका क्षेत्रमा नेपालको निजी क्षेत्रसँग सहकार्य विस्तार गर्न अनुरोध गर्नुभयो ।
महासचिव सान्तोसले नेपालको लगानी सम्भावना तथा अति कम विकसित मुलुकबाट हुने स्तरोन्नतिले सिर्जना गरेको अवसर र चुनौतीबारे थप बुझ्ने मौका प्राप्त गरेको जानकारी गराउनुभयो । विश्वव्यापी सञ्जाल रहेको संस्थाका रूपमा रहेकाले नेपालको साना तथा मझौला उद्यमीको क्षमता विस्तारमा सहकार्यको पहल भइरहेको उहाँको भनाइ छ ।
भेटमा आगामी दिनमा समेत नेपालको निजी क्षेत्रसँग सहकार्यका थप सम्भावनाको खोजी गर्ने तथा नेपालमा लगानी विस्तारका लागि सूचना सम्प्रेषणमा सहकार्य गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।