लहान समाचारदाता
लहान, साउन ९ गते । सिराहा र सप्तरीको सिमानामा रहेको बलान नदी पश्चिमी किनार सिराहातर्फका कटान क्षेत्रमा तटबन्ध निर्माण भएपछि कटान प्रभावित क्षेत्रका स्थानीयले सुरक्षाको महसुस गरेका छन् ।
वर्षाको समय आउनुअगावै सङ्घीय सरकारको खारो नदी सिँचाइ आयोजनाले एक करोड रुपियाँको लागतमा लहान–२३, तिलेबोनामा निर्माण भएको तटबन्धले नदीमा बाढी आए पनि सो क्षेत्रको बस्ती र उर्वर जग्गा जोगिने आशा पलाएको स्थानीय किसान बिल्टु यादवले बताउनुभयो । तटबन्ध निर्माण नहुँदा गत वर्ष बलान नदीको बाढीले आँपको फूलबारीसमेत कटान गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले तटबन्ध निर्माण भएपछि केही सुरक्षित भएको महसुस भएको छ । स्थानीय अशेश्वर यादवलगायतका किसानले विगतका वर्षमा नदीमा बाढी आउँदा हजारौँ बिघा खेतीयोग्य जग्गामा बालुवा भरेर बर्बाद नै पारेको बताउनुभयो ।
गोरखापत्र राष्ट्रिय दैनिकले निरन्तर पाँच वर्षदेखि यस समस्यालाई उजागर गर्दै आएको थियो । सञ्चार माध्यमको निरन्तरको खबरदारी र स्थानीयको दबाबका कारण यस वर्ष मधेश प्रदेश सरकारको एक करोड २० लाख र लहान नगरपालिकाको ५० लाख गरी एक करोड ७० लाख रुपियाँ लागतमा तटबन्ध निर्माण गरिएको स्थानीय अशेश्वर यादवले बताउनुभयो ।
सखुवानानकरपट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले तटबन्ध निर्मार्णले आउने दिनमा बाढीबाट हुन सक्ने क्षतिको न्यूनीकरण हुने अपेक्षा गर्नुभयो । बलान नदीमा बाढी आउँदा सिराहातर्फ लहान–२३, सखुवानानकरपट्टी गाउँपालिका–४ र ५, भगवानपुर गाउँपालिका–१ र ३ को गरी करिब एक हजार बिघा उर्वर जमिन कटान गरेर दर्जनाँै परिवारलाई सुकुमवासी बनाइदिएको उहाँको भनाइ छ ।