• १० साउन २०८२, शनिबार

रुकुमपूर्वबाट पौने ५९ करोड बजेट फिर्ता

blog

जयमान बुढामगर
रुकुमपूर्व, साउन ९ गते गत आर्थिक वर्ष २०८१/०८२ मा रुकुमपूर्वबाट पौने ५९ करोड बजेट फिर्ता भएको छ । सङ्घीय र प्रदेश सरकारबाट जिल्लाका विभिन्न कार्यालय र स्थानीय सरकारमा प्राप्त चालु र पुँजीगत बजेट गरी ५८ करोड ८७ लाख ६ हजार आठ सय ३० रुपियाँ खर्च हुन नसकी जिल्लाबाट बजेट फिर्ता भएको हो । २०८०/०८१ मा ३८ करोड बजेट फिर्ता भएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीयभन्दा प्रदेश सरकारको धेरै बजेट खर्च हुन नसकी फिर्ता भएको छ । प्रदेशबाट चालु र पुँजीगत गरी ९२ करोड १४ लाख ७८ हजार रुपियाँ बजेट प्राप्त भएकामा ५५ करोड आठ लाख २३ हजार तीन सय ९७ रुपियाँ पैसा खर्च हुँदा ३७ करोड ६ लाख ५४ हजार ६ सय तीन रुपियाँ खर्च हुन नसकेको लेखा नियन्त्रक हिरामणि गौतमले जानकारी दिनुभयो । प्रदेशबाट प्राप्त कुल बजेटको ५९.८ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा कुल बजेटको ८०.६२ प्रतिशत बजेट खर्च भएको थियो ।

चालु र पुँजीगत गरी सङ्घीय सरकारबाट जिल्लामा दुई अर्ब १५ करोड १२ लाख ४२ हजार पाँच सय ६० रुपियाँ बजेट आएकोमा ८९.९ प्रतिशत अर्थात् एक अर्ब ९३ करोड ३१ लाख ९० हजार तीन सय ३३ रुपियाँ खर्च भएको छ । भने २१ करोड ८० लाख ५२ हजार दुई सय सय २७ रुपियाँ खर्च नभएको लेखा नियन्त्रक गौतमले बताउनुभयो । 

साथै गत आर्थिक वर्षमा जिल्लास्थित सङ्घीयअन्तर्गत कार्यालयबाट दुई करोड पाँच लाख ६२ हजार आठ ७३ रुपियाँ राजस्व सङ्कलन हुँदा जिल्ला स्थित प्रदेश अन्तर्गत कार्यालयबाट ७९ लाख ९४ हजार आठ सय ७६ रुपियाँ राजस्व सङ्कलन भएको गौतमले जानकारी  दिनुभयो । प्रदेश र सङ्घ अन्तर्गत जिल्ला स्थित कार्यालयबाट गरी दुई करोड ८५ लाख ५७ हजार सात सय ५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

वित्तिय प्रगति कम देखिए पनि भौतिक प्रगति भने धेरै रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख थमप्रसाद पाण्डेयले बताउनुभयो । वित्तिय प्रगति कम देखिनुका कारण ठेकेदारले समयमै भुक्तानी लिन नआउनु र प्रदेश सरकारले अचानक भुक्तानी रोकिदिएकाले वित्तीय प्रगति कम देखिएको प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।