बिशाल सुनार
दुल्लु, साउन ८ गते । सदियौंदेखि चल्दै आएको वर्षे मेला (लाखे जात्रा) सुरु भएको छ । दैलेख जिल्लाको सदरमुकाम समेत रहेको दैलेख बजारको विषेश गरी पुरानो बजार क्षेत्रको मौलिक पर्वको रुपमा रहको वर्षे मेला अहिले सर्वव्यापी बनेको छ । मेला साउन ७ देखि भदौ १ गतेसम्म चल्ने आयोजक संस्था न्यू ज्वाला क्लवले जनाएको छ ।
धार्मिक तथा सांस्कृतिक रुपमा महत्त्वपूर्ण पर्वको रुपमा रहेकाले कुनै औपचारिकता बिनानै स्वतस्फुर्त मेलाको आयोजना हुने गर्दछ । सर्वाधिक लोकप्रिय र सबैभन्दा लामो समय अर्थात् करिब एक महिना चल्ने यो मेलाको विषेशता भने लाखे नाच, गाईजात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, राउटे जात्रा, बैरागी जात्रा हँदै कृष्ण जन्माष्ठमीमा गएर विधिवत रुपमा समापन गरिन्छ ।
यस क्षेत्रका किसानहरु वर्षायाममा लामो समय खेती किसानीमा व्यस्त हुने र साउन महिना लागेपछि हरिशयनी एकादशीबाट सुरु हुने धार्मिक अनुष्ठानहरु सँगै सुरु हुने मेलाको पहिलो दिन पाथिले छोपिएको नर्कटको स्वरुप भएको घण्टाकर्णको आकृति बनाएर चौक चौराहमा राखेर मेलाको सुरुवात गरिन्छ ।
धार्मीक, साँस्कृतिक, आर्थिक तथा सद्भावको पर्वको रुपमा मनाइने भएकाले पनि विस्तारै हजारौँ श्रद्धालु तथा जत्रालुको भिड बढ्ने गर्दछ ।
देशको अन्य स्थानहरुमा विषेश गरी नेवार समुदायहरु भित्र मात्र मनाउने गरेको पाइएपनि दैलेखका मनाइने वर्षे मेलाको मुख्य आकर्षणको रुपमा लाखे नचाउनेदेखि अन्य जात्राहरु निकाल्ने कुरामा सुरुवातदेखि नै अन्य जाती समुदायहरुको अग्रसरतामा मेला सञ्चालन गरिँदै आएको छ ।
देशै भर निकालिन लाखेहरु मध्यमा पनि दैलेख, जुम्ला, डोटी, भक्तपुरको लाखेलाई विषेश मानिन्छ । त्यसैमा पनि दैलेखको हकमा पाँचवटा तालहरुमा लाखे नाचिने भएकाले पनि विशिष्ट मानिने स्थानीय अग्रज बिष्णु कुमार गौतमले बताउनुभयो ।
पाश्चात्य धार्मिक तथा सांस्कृति प्रभाव बढिनै रहेको बेला वर्षे मेला धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा मात्र नभएर गाउँघर खाली, मेला पर्वहरु सुनसान, व्यापार व्यवसाय ठप्प बनेर सुनसान भएको बजार क्षेत्रको अर्थिक कारोबारलाई समेत चलायमान गराउने विश्वास गरिएको व्यवसायी लक्ष्मण न्यौपानेले बताउनुभयो ।