बुटवल समाचारदाता
बुटवल, साउन ९ गते । रुपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत रहेको पर्रोहा बोलबम धामको दोस्रो चरणको पुनर्निर्माणको काम सुरु हुने भएको छ । मन्दिरको पहिलो चरणको पुनर्निर्माणको काम १५ करोड रुपियाँमा गत वर्ष मात्रै सम्पन्न भएको हो । गुरुयोजना अनुसार अब दोस्रो चरणको पुनर्निर्माणको काम गर्ने तयारीमा मन्दिर व्यवस्थापन समिति लागेको छ ।
पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधामका अध्यक्ष चित्रबहादुर कार्कीले मन्दिरको पहिलो चरणको गुरुयोजना अनुसार निर्माणको काम पूरा भएको र अब दोस्रो चरणको गुरुयोजना अनुसारको निर्माणका लागि सङ्घीय सरकार, प्रदेश सरकार र सैनामैना नगरपालिकाले सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो ।
बोलबमधामको मूल मन्दिर प्यागोडा शैलीमा निर्माण भएको छ । जस अन्तर्गत कलात्मक काठ, ढुङ्गा, दक्षी इँटाको प्रयोग गरिएको छ । नयाँ मन्दिरमा रुद्राभिषेक गर्न सत्तल, चारैतिर पाञ्चायन मन्दिर (प्यागोडा शैली), अग्निशाला, पर्खाल, चन्द्रमा आकारको १०८ शिवलिङ्ग रहेको कुण्ड निर्माणको काम भइसकेको छ ।
यसैबिच उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधामको विकासका लागि सरकारले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष कार्कीले बताउनुभयो ।
पर्रोहा बोलबमधाममा नन्दीको प्रतिस्थापन गर्दै अर्थमन्त्री पौडेलले पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधामको बाँकी काम अघि बढाउनसमेत धाम व्यवस्थापन समितिसंग आग्रह गर्नुभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । उहाँले मन्दिरको गुरुयोजना अनुसारको पहिलो चरणको निर्माणको काम सम्पन्न भइसकेको अवस्थामा दोस्रो चरणको गुरुयोजना अनुसारको काम अघि बढाउन सरकारले आवश्यक बजेट दिने प्रतिबद्धतासमेत जनाउनुभएको मन्दिरले जनाएको छ ।
अर्थमन्त्री पौडेलले मन्दिरको विकासका लागि आवश्यक बजेट प्रदेश सरकार र सैनामैना नगरपालिकाले उपलब्ध गराउन आग्रह गर्दै नपुग बजेट सङ्घीय सरकारले दिने प्रतिबद्धता जनाउनुभएको छ । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पनि मन्दिरको गुरुयोजना अनुसारको पहिलो चरणको पुनर्निर्माणको काम सम्पन्न भएको र दोस्रो चरणको कामका लागि नगरपालिकाका तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।